INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागार र हिरासतमा क्षमता भन्दा दोब्बर बन्दी र थुनुवा हुँदा समस्या

बाँके कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा क्षमता भन्दा दोब्बर बढी बन्दी र थुनुवा रहँदा व्यवस्थापनमा समस्या भएको छ ।

३ सय क्षमता भएको बाँके कारागारमा ६ सय ५५ जना कैदी बन्दी रहेका छन् । जसमा ५६ महिला र ५ सय ९९ जना पुरुष रहेका छन् । अत्याधिक गर्मीको समयमा कारागारभित्र क्षमता भन्दा बढी चाप भएका कारण बन्दीहरू बिरामी हुने र छालासम्बन्धी समस्या देखिने गरेको कारागारमा कार्यरत सिअहेव बखतबहादुर थापाले जानकारी दिए ।

पुरुषतर्फ सुत्ने कोठा १६ रहेका छन् भने महिलातर्फ चार ओटा कोठा रहेका छन् । पुरुषतर्फ एक कोठामा ३५ देखि ४० जनासम्म र महिलातर्फ एक कोठामा १४/१५ जना बस्ने गरेको जेलर श्याम लामिछानेले जानकारी दिए ।

जाडोमा भन्दा गर्मीको समयमा क्षमता भन्दा बढी बन्दी हुँदा बसोबासमा समस्या हुने गरेको जेलर श्याम लामिछानेले बताए । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा शौचालय र खानेपानी प्रयोगमा लाइन लाग्नु पर्ने समस्या भएको जेलर लामिछानेले बताए । उनका अनुसार अन्य जिल्लाका कारागारबाट बिरामी बन्दी उपचारका लागि नेपालगञ्ज आउने गरेका कारण कारागारमा चाप बढने गरेको छ । बाँके जिल्लामा निर्माणाधीन क्षेत्रीय कारागार र खुल्ला कारागार निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आए कारागारका समस्या समाधान हुने लामिछानेको भनाइ छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पनि थुनुवा क्षमता भन्दा दोब्बर राखिएको छ । २४ जना थुनुवा क्षमता भएको हिरासत कक्षमा पुरुष थुनुवा कक्षका ३ वटा कोठामा ५३ जना थुनुवा रहेका छन्  । भने ३ जना महिला थुनुवा गरी जम्मा ५६ जना थुनुवा रहेका छन् ।

थुनुवा मध्ये लागु औषध मुद्दाका मात्रै करिब २३ जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङले जानकारी दिए ।

अन्य

भिडियो