०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको भवन जीर्ण हुँदा कैदीबन्दी समस्यामा परेका छन् ।
जिल्ला अदालत, प्रहरी र प्रशासन कार्यालयभन्दा करिब चार, पाँच किलोमिटरको दुरीमा रहेको जिल्ला कारागार अन्तर्गत कैदीबन्दी बस्ने भवन, सुरक्षाकर्मी र अन्य कर्मचारी बस्ने भवन समेत जीर्ण हुँदा समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिलकुमार तिवारीले बताए ।
‘कारागारमा भवन, खानेपानी र सवारीसाधन अभावका कारण निकै समस्या भएको छ ।’-तिवारीले भने । कारागारको समस्याका बारेमा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा समेत कुनै पहल नभएको तिवारीले गुनासो गरे ।
२५ जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले २८ जना कैदी र ११ जना थुनुवा गरी ३९ जना रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण कारागार सञ्चालनमा समेत समस्या भएको उनको भनाइ छ । कारागारको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र कारागारका अन्य कर्मचारीहरू बस्ने भवन समेत भत्किने अवस्थामा रहेको कारागार प्रशासनले जनाएको छ ।
पानी परेको समयमा छाना चुहिने समस्याले कैदिबन्दीहरू मारमा परेका छन् । ‘साना पानी परेपनि छाना चुहिन्छ ।’-कैदी दनबहादुर भाटले भने ।
जिल्ला कारागार बैतडीबाट थुनुवाहरूलाई अस्पताल, अदालत र अन्य न्यायिक निकायमा लैजान हतकडीकै साहाराले चार-पाँच किलोमिटर पैदलयात्रा गर्नुपर्ने समस्या छ । लामो दुरीमा पैदल यात्रा गर्दा थुनुवा भाग्ने डर पनि उतिक्कै हुने सम्भावना भएको कारागार प्रशासनको गुनासो छ ।
पछिल्लो समय सुधारगृहका रूपमा लिन थालिएको कारागारको भौतिक संरचना अभाव र अन्य व्यवस्थापकीय कमजोरीका कारण कैदीबन्दीहरूले विभिन्न समस्याहरू झेल्दै आएका छन् ।