INSEC Online

📅 २०८३ जेष्ठ २१

म्याद नाघेका अखाद्य वस्तुले उपभोक्ता मर्कामा

जुम्ला बजारका व्यापारीले म्याद नाघेका अखाद्य वस्तुको विक्री वितरण गरेपछि उपभोक्ता मारमा परेका छन् । व्यापारीहरूले अखाद्य वस्तु विक्री वितरण गर्ने र सरोकारवाला निकायले समयसमय अनुगमन नगर्ने तथा चासो नदिने गरेका कारण उपभोक्ता मारमा परेका हुन् ।

करिब एक वर्षको समयावधि पछि वैशाख २७ गते स्याउ प्रशोधन केन्द्र जुम्लाको आयोजना र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहजीकरणमा  भएको बजार अनुगमनका क्रममा डिलरहरूमा चाउचाउ, विस्कुट, दालमोठ, कुरमुरेलगायतका जङ्ग फुड र तेलमा म्याद गुज्रेका अखाद्य वस्तु भेटिएको स्थानीय उपभोक्ता चन्द्रबहादुर बुढाले बताए ।

सरोकारवाला निकायले गरेको अनुगमनमा जुम्ला बजारमा रहेका चार ओटा होलसेल पसलमा म्याद गुज्रेका सामानहरू भेटिएका छन् । नौ ओटा डिलर र चार ओटा होलसेल पसलबाट म्याद नाघेका सामान जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए । सबैभन्दा बढी तेल र जङ्क फुडहरूको म्याद गुज्रेको पाइएको स्याउ प्रशोधन केन्द्र जुम्लाका प्रमुख अमृत भुषण दाहालले बताए ।

जिल्लाका सरोकारवाला निकाय र सञ्चारकर्मीको रोहवरमा जफत गरिएका सामानहरू नष्ट गरिएको छ । आगामी दिनमा सदरमुकाममा मात्र अनुगमन नगरेर स्थानीय स्तरमा रहेका बजारहरूको पनि अनुगमन गर्ने र यो अनुगमनलाई निरन्तरता दिने स्याउ प्रशोधन केन्द्र जुम्लाले जनाएको छ ।

अन्य

भिडियो