ओखलढुङ्गाका झण्डै २ सय घरपरिवार बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्यामा परेका छन् । भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित भएका उनीहरूलाई आवास निर्माण गर्न समस्या परेको हो ।
भूगर्भविद्हरूको अध्ययन टोलीले बसोबास गर्न नमिल्ने क्षेत्र भनेर पहिचान भएका मोलुङ गाउँपालिकाको हर्कपुर, प्राप्चा, बिलन्दु, फुलबारी, टारकेराबारी र रगनीका २ सय भन्दा बढी घरपरिवार समस्यामा परेका हुन् ।
०७२ वैशाख १२ र २९ गतेको भूकम्पले जोखिममा परेका बस्ती स्थानान्तरणको काम सुरू नहुँदा अहिलेसम्म पीडितहरूले आवास निर्माण गर्न पाएका छैनन् ।
अध्ययन अनुसार अहिले १ सय ४८ परिवार स्थानान्तरण गर्नु पर्ने र अन्यको अध्ययन भइरहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पपछि गएको पहिरोले घर घडेरी नै चिरा परेका भुकम्प पीडितहरूले आवास पुनःनिर्माण गर्न पाएका छैनन् । उनीहरू अहिले पनि त्रिपाल र जस्ताका टहरामा गुजरा चलाइरहेका छन् । अहिले टारकेराबारीका पहिचान गरिएका ११ जना पीडितहरूको स्थानान्तरणका लागि आवेदन दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई ओखलढङ्गाका प्रमुख विजयमुनि बज्राचार्यले बताए ।
भूगर्भविद्बाट आएका सिफारिसलाई आधार मानेर बस्ती स्थानान्तरण गर्ने र व्यक्तिगत रूपमा सुरक्षित स्थानमा घर बनाउन चाहनेका लागि अनुदान दिने काम थालिने उनको भनाई छ । ढिलाइ हुनुमा सरकारले बस्ती स्थानान्तरणको प्रकृयाका काम विभिन्न निकायमा जिम्मेवारी दिएको र समन्वय लगायतको समस्या रहेको उनको भनाई छ ।
उच्च जोखिममा परेका गाउँमा स्थाननान्तरण गर्नुपर्ने लाभग्राहीहरूले सरकारलाई पर्खिँदा अन्यत्र घर निर्माण गर्न सकेका छैनन् । सरकारले घडेरी किन्न २ लाख रुपियाँ अनुदान दिने भएपनि अनुदान लिने प्रकृया अघि नबढेपछि अहिलेसम्म रकम लिन नसकेको हर्कपुरका भूकम्प पीडित केशर काफ्लेले गुनासो गरे ।
गाउँ नै विस्थापित हुने अवस्था रहेकाले अन्तै जान भने पनि घडेरी किन्न सरकारले पैसा नदिएको उनको गुनासो छ । काफ्ले जस्ता १८ जना पीडितले हर्कपुरबाट निवेदन दिएका छन् ।
त्यस्तै अन्य जोखिममा रहेका स्थानका पीडितमध्ये स्थानान्तरणका लागि टारकेराबारीबाट ११ जनाको निवदेन आए पनि उनीहरूको समस्या समाधान भएको छैन । अन्य १ सय ४८ पहिचान भएका पीडितहरू पनि आवास पुनःनिर्माण गर्न नसक्दा समस्यामा छन् ।