बालविवाह गरेका कारण सुरूमा विवाह दर्ता समेत गराउन नपाएकी एक महिला उमेर पुगेपछि परिवारजनले असहयोग गरेर नेपाली नागरिकता लिन अन्यौल परेको अवस्थामा इन्सेकको पहलमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।
नारायण नपा-४ की रञ्जना कटुवाल १३ वर्षकी हुँदा गाउँकै मानबहादुर कटुवालसँग बावुआमाले विवाह गराइदिए । त्यसको दुई वर्षमा जन्मेको छोरा सर्वराजको जन्म दर्ता पनि बन्यो ।
छोराको जन्मदर्ता त बन्यो तर रञ्जनाको उमेर १८ वर्षनपुग्दासम्म नगरपालिकाले विवाह दर्ता गर्न नमिल्ने बतायो, विवाहदर्ता नभएको कारण नेपाली नागरिकता पाउन कठिन बनेको थियो ।
जब उमेर १८ वर्षपुग्यो विवाहदर्ता र नागरिकताको कुरा गर्दा मानबहादुरले आनाकानी गरे, बनाउन मानेनन् ।
नागरिकता बनाउन फकाएर नमानेपछि प्रहरी प्रशासन गुहार्दा मानबहादुर घर नै छोडेर भागे । जेठाजु बलबहादुर कटुवाल र सासू नरमा कटुवालले दबाव दिएका कारण आफू घरमै बसेर पनि विवाह दर्ता र नागरिकता बनाउन अवरोध भएको रञ्जनाले सुनाइन् ।
विवाह दर्ता र नागरिकता बनाउन अवरोध मात्र नभएर घरमा बस्न, खान नदिएको भन्दै इन्सेकको पहलमा कानुनी सहायता केन्द्रको सहयोगमा उनले दैलेख जिल्ला अदालतमा दिएको अंश मुद्दा सफलतापछि नागरिकता पाउन बाटो खुल्यो ।
०७४ जेठमा दिएको अंश मुद्दा ०७४ चैत १२ गते भएको फैसलामा ‘छोरा सर्वराज कटुवालको जन्म दर्तामा आमा रञ्जना र बावु मानबहादुर कटुवाल उल्लेख भएबाट उनीहरू पति-पत्नी ठहर्ने भएकोले अंश पाउन हक पुग्छ’ भन्ने आदेशका आधारमा जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते रञ्जनालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ ।
अदालतको फैसला, छोराको जन्मदर्ता समेत संलग्न राखी रीतपूर्वकको निवेदन पेश गरेकामा रञ्जनाका जेठाजु र सासूलाई समेत झिकाउँदा आनाकानी गरेकाले अदालतको फैसलाको आधारमा पति मानबहादुर कटुवाल उल्लेख गरी रञ्जनालाई नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए ।
रञ्जनालाई नागरिकता दिलाउनका लागि अदालतबाट भएको फैसला सम्बन्धमा सम्बन्धित वडाका वडा अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग इन्सेककर्मीले भेट गरी छलफल गरेका थिए ।
वडा कार्यालय र प्रशासन कार्यालयबाट नागरिकता दिन मिल्दैन की भन्दै ढिलासुस्ती गरेको अवस्थामा इन्सेकले यस विषयमा नियमित पैरवी गरेको थियो ।
लामो सङ्घर्ष अनि अधिकारकर्मी संस्थाको पहल, न्यायिक निकाय र प्रमुख जिल्ला अधिकारीको सदभावले आफूले नागरिकता पाएको रञ्जनाले बताइन् । नागरिकता पाउँदा आफूले लडाई जितेजस्तो खुशी लागेको उनले टिप्प्पणी गरिन् ।