ओखलढुङ्गाको कारागारमा खानेपानीको अभाव हुँदा कैदीबन्दीले स्वच्छ पिउने पानीबाट वञ्चित भएका छन् । खानेपानी नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदीबन्दीले गुनासो गरेका छन् ।
कैदीबन्दीले पिउने पानी अभाव रहेको, वर्षामा पानी चुहिने र जीर्ण भवनमा जोखिमपूर्ण तरिकाले बस्नु परेको गुनासो गरेका हुन् ।
सञ्चारकर्मी, इन्सेक प्रतिनिधि, सरकारी अधिकारीसहितको टोलीले वैशाख २१ गते कारागार अनुगमन गर्ने क्रममा कैदीबन्दीले सो गुनासो गरेका हुन् ।
अनुगमनका क्रममा कैदीबन्दीहरूले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नभएको, राज्यले दिने ‘सिदा’ले नपुगेको र साँगुरो ठाउँमा खापा लगाएर कोचिएर बस्नु परेको गुनासो गरेका थिए ।
०४५ सालमा पाँच जना महिला र २० जना पुरुष गरी २५ जना क्षमता भएको कारागारमा अहिले पुरुषतर्फ ५१ र महिला ६ जना कैदीबन्दी रहेका छन् ।
अनुगमनपछि कैदीबन्दीसँग कारागारका समस्याबारे छलफल गरिएको थियो । छलफलमा कैदीबन्दीले शौचालय दुई वटा मात्र भएकाले शौच गर्न समस्या भएको, मेस तथा सामान्य अभ्यास गर्नका लागि ठाउँ अभाव भएको गुनासो राखेका थिए ।
अनुगमन टोलीले कारागार प्रशासनलाई स्थानीय स्तरमा हुनसक्ने सुधार गर्न आग्रह गरेको जेलर टङ्क रम्तेलले बताए ।
अनुगमनबाट देखिएका समस्या समाधान गर्न सिफारिस गरिने अनुगमन टोलीका सदस्य नुमराज खनालले जानकारी दिए ।
महान्यायधीवक्ताको कार्यालयबाट उच्च स्तरको अनुगमन गरेर कारागारलाई सुधार गृहका रुपमा विकास गर्न सिफरिस गरिने उनले बताए ।