सरकारले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा समेत डोल्पाबासीले पाउन सकेका छैनन् ।
पहिलो किस्ता मंसिरको पहिलो साता दोश्रो किस्ता फागुनको पहिलोसाता र तेस्रो किस्ता असारको पहिलो सातामा सामाजिक सुरक्षा भत्ता वापतको रकम बुझदै आएकोमा यो आवको तेस्रो किस्ता लागि सक्दा समेत सुरक्षाभत्ता नपाएपछि जेष्ठ नागरिकहरूमा निराशा छाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका-१ का ७८ वर्षीय रविप्रसाद न्यौपाने भने-विगतमा त भत्ता चार/चार महिनाको पाइन्थ्यो । यो वर्ष त जेठ लाग्नै थालिसक्यो अझै भत्ता पाएका छैनौँ । कतै भत्ता कटाएको त होइन सरकारले ? वार्ड सचिवलाई सोध्यो आउँछआउँछ भन्छन् तर अहिलेसम्म पाइएको छैन ।’
न्यौपानेमात्र होइनन् त्रिपुरासुन्दरी नपा-१० का नारायण गिरीले पनि भत्ता नपाएकोमा दुखेसो पोखे । उनले भने-‘चुनाव ताका त भोट माग्न आउँदा नेताहरूले खाइपाइ आएको भत्ता बढाएर प्रतिमहिना ५ हजार रुपियाँ बनाउने भन्थे । तर, यो वर्षत अहिलेसम्म ५ हजार त के विगतमा पाइरहेको भत्ता समेत पाएका छैनौँ ।’
सरकारले उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाहरूले पाउँदै आएका पोषण बापतको भत्तासमेत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका भित्रका बालबालिकाहरूले अहिलेसम्म पाउन सकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्षसम्मका बालबालिकाहरूलाई प्रतिमहिना ४ सय रुपियाँका दरले वार्षिक ४ हजार ८ सय रुपियाँ पोषण भत्ताबापत उपलब्ध गराउँदै आएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका ११ वटा वडाका २ हजार २ सय ६७ जना ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षाभत्ता र २ हजार ८ सय ८४ जना बालबालिकाले पोषण भत्ता नपाएका हुन् । त्यसैगरी ठुलीभेरी नगरपालिकाका ११ वटै वडाका १ हजार ५ सय ६० जना ज्येष्ठ नागरिकले भत्ता नपाएका हुन् ।
यो वर्ष २ हजार २ सय जना बालबालिकाहरूले पोषण भत्ता नपाएको र सामाजिक भत्ता तथा पोषण भत्ता पाउनेहरूको डाटा पनि नयाँ सङ्कलन भइरहेकाले पनि ढिलाई भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत केशव सुनारले बताए ।
त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटका निमित्त कार्यकारी जयशंकर धितालले प्रत्येक वार्डबाट जेष्ठ नागरिक तथा बालबालिकाहरूको नयाँ डाटा नगरमा नआइसकेकाले सामाजिक सुरक्षाभत्ता र बालबालिकालाई उपलब्ध गराउँदै आएको पोषण बापतको भत्ता वितरणमा ढिलाई भएको बताए ।
उनले भने-‘प्रत्येक वार्डमा कर्मचारी खटाएर ज्येष्ठ नागरिक तथा दलित, अपाङ्गता भएका, एकल महिला र बालबालिकाको एकिन तथ्याङ्क सङ्कलन भइरहेको र जेठको दोश्रो सातासम्ममा वितरण गर्छौँ ।’
जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले ठुलीभेरी नगरपालिकामा केन्द्र विवाद तथा डाटा सङ्कलन ढिलाइ र त्रिपुरासुन्दरी नगरपालिकामा कर्मचारीको लापरवाही तथा डाटा सङ्कलनकै ढिलाइले गर्दा सामाजिक सुरक्षा तथा बालबालिकाको पोषण भत्ता वितरणमा ढिलाइ भएकाले आगामी दिनमा त्यस्तो नगर्ने बताएका छन् ।