INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको अभावले बसाईसराई बढ्दै

खानेपानीको चरम अभाव भएसँगै खोटेहाङ गाउँपालिका-८ सिम्पानीका स्थानीय दुई वर्षयता निरन्तर बसाई सर्न बाध्य भएका छन् ।

विगत दुई वर्षयता साविकको-३ नम्बर वडा बर्रेमा पानीको मुहान सुक्न थालेपछि हालसम्म १५ घरधुरी  बसाई सरी अन्यत्र गएका छन् ।

स्थानीय जिमाहा धाराको मुहान खडेरीले सुकेपछि घण्टौँ हिडेर पिउने पानीको समस्या झेल्दै आएका स्थानीय अन्ततः अन्यत्र बसाई सरेका हुन् ।

पुस्तौँपुस्ता उपभोग गर्दै आएको खानेपानीको मुहान खडेरीले सुकेपछि दैनिक जनजीवन गुजारा गर्न चरम समस्या भएको भन्दै स्थानीयहरू अन्तै जान थालेका हुन् ।

विगत लामो समयदेखि बर्रे गाउँको बिचमा रहेको स्थानीय जिमाहा धाराको मुहान सुकेपछि पानीको समस्या समाधानका लागि गाउँपालिका र वडा कार्यालयले साविकको १ नम्बर वडादेखि पानी तान्नलाई १३ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

यद्यपि, साविकको १ नम्बर वडामै पानी नपुगेकाले उक्त योजना त्यत्तिकै रहेको छ । आसपासमा पानीको श्रोत नभएकाले बर्रेका ३० घर बढी परिवार दुई वर्षदेखि पानीको चरम समस्या झेल्दै बसाई सर्न थालेका हुन् ।

विकल्पमा साविक-३ नम्बर वडाका केही स्थानीय रामबहादुर गिरीले खरिद गरेको खेतको पानी घण्टौ कुरेर खाना पकाउन र पिउनका लागि मात्रै उपभोग गरिरहेको खोटेहाङ गाउँपालिका-८ सिम्पानीका स्थानीय शिखर खतिवडाले बताए ।

केहीले साविक-१ वडाबाट पानी ल्याएर जिवन गुजारा गरिरहेका छन् । घरदेखि दुई घण्टा पर पुगेर त्यतिकै समय पालो कुरेर पानी थाप्नु पर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । खतिवडाले भने-‘दुधभन्दा फारो गरेर पानी खानु परेको छ । गाईभैँसीलाई दिने पानी छैन ।’जसोतसो पानीका समस्या टार्दै बसेकाहरूले गाईबस्तु पाल्न छाडेका छन् ।

आफूले पालेका पशु चौपायालाई पानी खुवाउन दुई घण्टाको बाटो हिँडाएर खोलामा लानुपर्ने बाध्यता रहेको सिम्पानीका वडाध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।

‘हामीले खानेपानीका लागि बजेट विनियोजन गरेका थियौँ ।’-वडाध्यक्ष थापाले भने-‘साविक १ नम्बर वडाले आफैँलाई पानी नपुग्ने भनेर विरोध गरेपछि वडाले छुट्याएको ३ लाख रुपियाँ बजेट सडकमा लगायौँ ।’

मानव जिवनका लागि अनिवार्य खाने पानी नहुँदा सबैभन्दा बढी बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई समस्या हुने गरेको छ ।

अन्य

भिडियो