बी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहका निमित्त प्रधानाध्यापक ४९ वर्षीय लेखनाथ कोइरालालाई वैशाख २१ गते हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३३ वर्षीय शङ्कर भनिने ज्ञानेन्द्रकुमार खडगाले विद्यालयभित्र कुटपिट गरेको भन्दै विद्यालयले इलाका प्रहरी कार्यालय भारदहमा उजुरी दिएका छन् ।
विद्यालयको कार्यालय कक्षबाट कक्षा कोठातर्फ गइरहेका बेला खडगाले मुक्काले कुटपिट गरेपछि रक्ताम्य भएर बेहोस भएको निमित्त प्रधानाध्यापक कोइरालाले बताए ।
पीडित शिक्षकको सामान्य उपचार भारदहस्थित अस्पतालमा गरेर राजविराजस्थित अञ्चल अस्पतालमा रिफर गरिएको छ । राजविराजस्थित अस्पतालमा भर्ना भएका कोइरालाको अनुहारभरी चोटपटक लागेको छ ।
विद्यालयले घटनाका सम्बन्धमा सिडिओ कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा समन्वय समिति, हनुमाननगर कङ्कालिनी नगरपालिका कार्यालय, वडा नम्बर १ को कार्यालयमासमेत आवश्यक कारबाहीका लागि अनुरोध गरेको छ ।
उदयपुरको त्रियुगा नपा-१२ प्रतिभा टोलका स्थायी बासिन्दा कोइराला १५ वर्षदेखि सो विद्यालयमा कार्यरत छन् ।