INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिकोटका विकट गाउँमा खानेपानीको अभाव

जिल्लाकै विकट सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकाको धौलागोह र खिनमा खानेपानीको अभाव भएपछि उक्त गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर कर्णाली नदीसम्म पानी लिन जानुपर्ने स्थानीयबासीले गुनासो गरेका छन् ।

पलाता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएपछि पानीको मुहानमा जाग्राम बस्नु पर्ने अवस्था आएको स्थानीयबासी सुरबहादुर नेपालीले गुनासो गरे । खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीका कारण ग्रामीण क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीयबासीले आरोप लगाए ।

जिल्लामा एक दर्जन भन्दा धेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भएपनि पलाता गाउँपालिकामा खानेपानीको ठूलो समस्या रहेको स्थानीय पूर्ण उपाध्ययले बताए । उनले भने-‘गाउँमा पिउने पानी छैन । शिक्षण र स्वास्थ्य संस्थामा उस्तै हालत छ ।’

पलाता गाउँपालिकाको ३ र ४ वडाका ८० घरधुरीका स्थानीयबासीले खानेपानीको अभाव झेल्नु परेको हो । विगत लामो समयदेखि यहाँका स्थानीयले पानीको अभाव झेल्दै आएको स्थानीय राजबहादुर बमले बताए ।

‘पलाता गाउँपालिकामा पानीको सधैँ अभाव हुने गरेको छ ।’-उनले भने-‘पानीका लागि रातभर हिँडेर कर्णाली नदीको पानी लिन जानुपर्ने अवस्था छ ।’

गाउँभन्दा पनि सदरमुकाममा पानीको समस्या बढी देखिएको मान्मका स्थानीयबासी पवित्रकुमार शाहीले बताए । कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले तथ्याङ्कमा देखाएको खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयका निमित्त प्रमुख देवानन्द धितालले बताए ।

नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको भएपनि यहाँका नागरिकले खानेपानीको चरम अभाव झेल्नु पर्ने अवस्था रहेको छ ।

अन्य

भिडियो