INSEC Online

📅 २०८३ जेष्ठ २१

सात महिनादेखि अदालतमा कुनै मुद्दाको फैसला भएन, सेवाग्राही प्रभावित

जिल्ला अदालत हुम्लामा सात महिनादेखि मुद्दाको फैसला नहुँदा सेवाग्राही प्रभावित भएका छन् । एक जना न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्माले असोज २८ गते जिल्ला छोडेपछि अदालतमा दर्ता भएका मुद्दाको फैसला हुन नसकेको अदालतका श्रेस्तेदार शिवकुमार पोखरेलले बताए ।

पितृशोकमा परेपछि विदामा गएका न्यायाधीश शर्मा वैशाख १९ गतेसम्म जिल्लामा नफर्केको अदालतका श्रेस्तेदार पोखरेल जानकारी दिए ।

०७४ मङ्सिर १० गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको रूपमा न्यायाधीश मेदिनीप्रसाद शर्मा पौडेललाई जिल्लामा खटाएको भए पनि उनले कुनै मुद्दा नहेरेको अदालतका श्रेस्तादार शिवकुमार पोखरेलले बताए । उनले भने-‘गत असोज यता जिल्ला अदालत हुम्लामा मुद्दाको पेशी सर्ने क्रम जारी रहेपछि सेवाग्राहीका कामकाज ठप्प भएका छन् ।’

अघिल्लो वर्षबाट सरेका मुद्दासहित हुम्ला जिल्ला अदालतमा ६१ थान मुद्दा दर्ता भएको अदालतका ताविलदार दानबहादुर रावतले बताए । जसमा २८ थान मुद्दा हाल पेशीमा चढेको भएपनि न्यायिक निरूपण हुन सकेको छैन । न्यायाधीश नभएकै कारण पेशी चढेका मुद्दाका वादी तथा प्रतिवादीले दैनिक रूपमा अदालतमा आउने जाने गर्ने गरेको अदालतले जनाएको छ ।

गत साउन यता जिम्मेवारी सरेर आएकासहित जिल्ला अदालत हुम्लामा १६ थान मुद्दा देवानी, ६ थान सरकारवादी, २० थान दुनियावादी, पाँच थान सम्बन्ध बिच्छेदका र चार थान गाली बेइज्जतीका मुद्दा रहेको श्रेस्तादार पोखरेलले बताए ।

मुद्दा फैसला हुन्छ की भन्दै जिल्ला अदालतमा दैनिक जाने गरेको भएपनि न्यायाधीश नभएपछि काम नभएर फर्कने गरेको सेवाग्राही जसमति मल्लले गुनासो गरिन् ।

अन्य

भिडियो