INSEC Online

📅 २०८३ जेष्ठ २२

कारागारमा खानेपानीको चरम सङ्कट

जिल्ला कारागार अछाममा खानेपानीको चरम सङ्कट भएको छ । कैदीबन्दीहरूलाई मङ्गलसेन नगरपालिकाको पधेँरीखोलीको खोलाबाट पाइपलाइनमा ल्याइएको पानीमा लेदो आउन थालेपछि दुई दिनदेखि पानीको सङ्कट भएको हो ।

पानीको अभावमा कैदीबन्दीहरूलाई खानेपानी र खाना पकाउन, सरसफाई गर्न समस्या भएको कैदी गङ्गाराम भाटले जानकारी दिए । पानीको अभावमा कुनैकुनै छाक भोकैसमेत बस्नुपर्ने अवस्था आउने गरेको कैदीबन्दीहरूको भनाई छ । खानेपानीको समस्या समाधनका लागि कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय र खानेपानी कार्यालयमा ज्ञापनपत्र समेत दिने कार्यक्रम रहेको कैदीबन्दीहरूले बताएका छन् ।

कारागारमा पानीको अभावका बारेमा कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले प्रतिक्रिया दिए । प्रजिअ चौधरीले भने-‘के भएको रहेछ? अब म हेर्छु’ कैदीबन्दीहरूलाई पानीको समस्या भएमा तत्काल मर्मत सम्भार गरी व्यवस्थापन गर्ने प्रजिअ चौधरीको भनाई छ ।

रामारोशन गाउँपालिका-७ सुतारका विभिन्न टोलहरूमा समेत खानेपानीको अभाव भएको छ । पानी सुक्नु र पाइपलाइन बिग्रेका कारण थारखोला खानेपानी दुई महिनादेखि बन्द भएको स्थानीय जगतबहादुर भण्डारीले जानकारी दिए ।

खानेपानी आयोजना बन्द भएपछि स्थानीयबासीलाई टाढाबाट बोकेर खानेपानी ल्याउनुपर्ने अवस्था रहेको छ । उक्त स्थानका विभिन्न टोलका ४ सय बढी घरधुरीलाई खानेपानीको सास्ती भइरहेको स्थानीय चन्द्र भण्डारीको भनाई छ ।

पानीको अभाव रहेको उक्त टोलमा पानीको व्यवस्थाका लागि पहल हुने रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलको भनाई छ ।

अन्य

भिडियो