INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प पीडित तीन वर्षदेखि टहरोमै

भूकम्प गएको तीन वर्षबितेपनि नुवाकोटमा भूकम्प पीडितहरू अझै पनि टहरामै रहेका छन् । जिल्लामा भूकम्प पीडितहरूको एक तिहाई घर पनि पुनर्निर्माण नभएको तथ्याङ्क रहेको छ ।

अधिकांश भूकम्प पीडितहरू अहिले पनि टहरामै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नुवाकोटका निमित्त प्रमुख बेदप्रसाद गौडेलले बताए । सरकारले भूकम्प पीडितको पहिलो किस्ता अनुदान सम्झौताको आधारमा घरको जग हालिसक्नु पर्ने सीमा तोकेपछि भने निजी आवास निर्माणले केही गति लिएपनि त्यो पर्याप्त नभएको उनले बताए ।

जिल्ला आयोजना कार्यन्वयन इकाईका अनुसार नुवाकोटमा १५ हजार घर पुनर्निर्माण कार्य सम्पन्न भएको छ । ६९ हजार २ सय ८९ घर भूकम्पको कारण भत्किएकामा १५ हजारमात्र घर बन्नु निकै सुस्त भएको इकाइले जनाएको छ ।

५० हजार ५९ घरको दोस्रो किस्ताको लागि सिफारिस गरिसकिएको तथ्याङ्क रहेकाले भूकम्प पीडितहरूले घर धमाधम बनाइरहेको स्पष्ट हुने जिल्ला आयोजना कार्यन्वयन इकाइका प्रमुख विदुर खड्काले बताए ।

घर बनाउने कामले प्रभावकारी रूपमा गति नलिनुमा निर्माण सामग्रीको अभाव मुख्य रहेको बेलकोटगढी नगरपालिका-११ का वडा अध्यक्ष रामहरि पाण्डे बताउँछन् ।

गाउँमा पनि पीडितहरूले सिमेन्ट, रड नै प्रयोग गरेर घर बनाउन थालेकाले निर्माण सामग्री महङ्गीको मार परेको वडा अध्यक्ष पाण्डेले बताए । ‘निर्वाचनपछि निर्माण सामग्रीको भाउ एक्कासी बढ्यो । यसको मार भूकम्प पीडितहरूमा पर्‍यो ।’-उनले भने-‘जिल्लामा बालुवा कहिले खुला हुने, कहिले नहुने जस्ता कारणले भूकम्प पीडित अप्ठ्यारोमा परेका छन् ।’

समयमा निर्माण सामग्री नपाउनु, पाए पनि महङ्गो हुनु, कामदार पर्याप्त नहुनु जस्ता कारणले घर बनाउने समस्या भइरहेको तारकेश्वर-४ बुधसिङका भूकम्प पीडित ज्ञानकुमार श्रेष्ठले बताए । ‘दुई कोठे पिल्लरवाला घर बनाउन थालेको साढे तीन महिना भयो । तर, अझै पुरा हुन सकेको छैन ।’-उनले भने-‘सिमेन्ट र रड त महङ्गो भयो नै ! बालुवा र गिटीको अभावले पनि दुःख पाइयो । अहिले पनि बालुवा पाइँदैन ।’

गाउँगाउँमा पनि ढुङ्गामाटोबाट बन्ने घर निर्माणमा आकर्षण कम भएका कारण पनि सामग्री अभाव र कामदार अभाव भोग्न परेको इञ्जिनियर रामकृष्ण राजभण्डारी बताउँछन् ।

‘पक्की घर भनेको ढलान गरेको घर मात्र हुन्छ भन्ने परेको छ । यसलाई चिर्न नसक्दा अहिले भूकम्प पीडितहरूले ऋण गरेरै भए पनि गाउँमा समेत ढलान गरिएको घर बनाउन थालेका छन् ।’-उनले भने-‘विधि पुर्‍याएर निर्माण गर्ने हो भने ढुङ्गामाटो र काठ प्रयोग गरेको घर पनि भूकम्प प्रतिरोधी हुन्छ ।’

यसैबिच भूकम्पका कारण विस्थापित भएका दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका ४६ घर परिवारलाई सुरक्षित स्थानमा जग्गा खरिद गरी प्रदान गरिएको छ । पुरानो थलोमा पहिरो गई जमिन बसोबास गर्न योग्य नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोही वडाको सुरक्षित स्थानमा १९ रोपनी जग्गा खरीद गरी प्रदान गरेको हो ।

सरकारले भूकम्पको कारण पुरानो थलोमा बस्न योग्य नभएमा जग्गा खरिदको लागि प्रति परिवार बढीमा २ लाख रुपियाँसम्म अनुदान दिने व्यवस्था भए अनुसार सो जग्गा खरिद गरी वैशाख १६ गते प्रदान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए ।

४६ जनामध्ये ३४ जनाले पति-पत्नीको नाममा संयुक्त लाजपुर्जा बनाएका छन् । साविक घ्याङ्फेदी गाविसबाट भूकम्पको कारण ७४ परिवार स्थानान्तरण गर्नुपर्ने सूचीमा रहेकाले बाँकीको लागि जग्गाको खोजी भइरहेको प्राधिकरणले जनाएको छ ।

अन्य

भिडियो