काठमाडौँको बानेश्वरस्थित बागमती किनारको सुकुमबासी बस्तीमा बस्दै आएका दिलिप यादवले आफ्नै दुई जना झडकेलो छोरालाई हत्या गरेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाका अनुसार यादवले आठ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरेका हुन् ।
दुवै छोराको हत्या गरी आफूले बस्दै आएको कोठामा शव लुकाएर राखेको अवस्थामा प्रहरीले वैशाख १४ गते फेला पारेको छ ।
वैशाख १० गते बालकका हजुरआमाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा आफ्ना नाती हराएको भन्दै खोजतलासका लागि निवेदन दर्ता गरेकी थिइन् ।
हराएको भनिएका छोराको खोजतलास गर्दैगर्दा यादवले आफूले दुवै छोराको हत्या गरी कोठमा लुकाएको आमालाई जानकारी गराएका थिए । सो खबर हजुरआमाले प्रहरीलाई जानकारी गराएकी थिइन् ।
छोराहरूको हत्या गरी यादव फरार रहेका छन् । घटनाको अनुसन्धानका साथै यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।