INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेकको पहलमा १६ जना विद्यार्थीको भर्ना

सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको बेला गौतमबुद्ध मावि गोरूसिङ्गेले विद्यालयमा भर्ना गर्न आएका १६ जना बालबालिकालाई भर्ना नगरि फर्काइदिएपछि इन्सेक जिल्ला प्रतिनिधि र स्थानीय समाजसेवी व्यक्तिहरूको दबावपछि वैशाख १४ गते १६ जना विद्यार्थीलाई विद्यालयले भर्ना गरेको छ ।

बुद्धभुमि नपा-२ जगनगरको बक्टेरीयाको आधारभुत विद्यालय कक्षा ६ मा पास गरी कक्षा ७ मा गौतमबुद्ध माविमा भर्ना हुन आएका २८ जना मध्ये १६ जना विद्यार्थीलाई भर्ना नगरी फर्काएको थियो । यसैगरी शिवशक्ति प्राविबाट कक्षा ३ पास गरी कक्षा ४ मा आएका आठ जनामध्ये ६ जना विद्यार्थीलाई समेत भर्ना नलिइ पुर्वाग्रही तरिकाले फर्काइएको अविभावहरूले गुनासो गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद अर्यालले कक्षा ४ देखि माथिल्लो कक्षामा विद्यार्थीको सङ्ख्या बढी भएको, शिक्षक दरबन्दीको कमी, विद्यालयमा बस्ने भवन नभएकोलगायतका विभिन्न बाहाना पारी प्रवेश परीक्षा लिएको ‘नाटक’ गरी विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाएको अविभावक साउनी थारूले बताइन् ।

‘हेडसरले तिमिहरू पढाइमा कमजोर छौ । कक्षा ७ मा पढन पाउदैनौ । पढने भए कक्षा ६ मा पढ भनी फर्काइदिनुभयो ।’-कक्षा ७ मा भर्ना गर्न आएका अनुराग थारूले बताए ।

छोराछोरीलाई सरकारी विद्यालयले भर्ना नगरेपछि आफ्ना छोराछोरी कहाँ पढाउने भन्ने चिन्ता परेकाले मानव अधिकारकर्मीलाई गुहार्न बाध्य भएको लैरी थारूले बताइन् । ‘अन्त जाने ठाउँ छैन । बोर्डिङमा पढाउन सकिँदैन नजिकको गौतमबुद्ध माविबाहेक अरू विद्यालय छैनन् कहाँ लैजाने ?’-उनले भनिन् ।

विद्यालयमा भर्ना गर्न गएका छोराछोरीहरू भर्ना नभई घर फर्केपछि पढ्न नपाउने भयौँ भन्दै रूदै बस्ने गरेको तथा दुई/तीन छाक खान पनि नखाएको अभिभावक घिराउ थारूले बताए ।

कक्षा ६ को परीक्षा स्रोत केन्द्र स्तरीय भएको र एउटै पेपर दिएर पास गरेका विद्यार्थीलाई कसैलाई प्रवेश परीक्षा नलिई भर्ना गर्ने तथा कसैलाई प्रवेश परीक्षामा फेल गरी पढ्न नदिने विद्यालयको नीति पुर्वाग्रही भएको समाजसेवी पिताम्बर खनालको आरोप छ ।

थारू समुदायको बसोवास रहेको बक्टेरीययामा सञ्चालित विद्यालयबाट आएका विद्यार्थीलाई प्रोत्साहन गरी भर्ना गरिदिनु पर्नेमा विद्यालयमा पटकपटक भर्ना गर्न आउँदासमेत हेडसरले फर्काएर बालबालिकाको पढ्न पाउने अधिकारबाट वञ्चित गर्न खोजेको समाजसेवी हेमराज सुबेदीको भनाई छ ।

अन्य

भिडियो