बुढीगङ्गा नगरपालिका-७ की ७१ वर्षीया सपना वादीले इन्सेकको पहलमा वैशाख १४ गते नेपाली नगरिकता पाएकी छन् ।

तीन वर्षअगाडि पतिको मृत्यु भएपछि नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएकी वादीले इन्सेकको सहयोगमा नागरिकता पाएकी हुन् ।
अर्काको छाप्रोमा बस्दै आएकी सपनाको परिवारको जग्गा जमीन पनि छैन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाजुराका अध्यक्षमार्फत इन्सेक जिल्ला प्रतिनिधिले नागरिकता बनाउन सहयोग स्वरूप यातायात खर्च दिएर बुढीगंगा नगरपालिका-७ का वडा अध्यक्ष भवनसिं केसीसँग नागरिकताको सिफरिसको लागि पहल गरेका थिए ।
‘श्रीमान हुँदा कतै गित गाएर, माटोका भाँडा बनाएर परिवार पाल्थ्यौँ । तर, अहिले श्रीमानको मृत्यु भइसकेपछि मागेर जिविका चलाउँदै छौँ ।’-उनले भनिन्-‘दिनभरी माथिल्लो जातिको घरमा काम गरेर मागेर ल्याउँछु ।’ त्यसैबाट छोराहरूको पेट भर्ने गरेको उनले बताइन् ।
नागरिकता बनेपछि सरकारले दिने सेवा पाउने भन्दै केही आशा पलाएको सपनाले खुशी व्यक्त गरिन् । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले यस्ता विपन्न नागरिकका आवज बाहिर ल्याउन इन्सेकले खेलेको भूमिकाप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।