INSEC Online

📅 २०८३ जेष्ठ २१

आकाश हेरेर ओछ्यान लगाउँछन् गुल्मीका स्थानीय

डेढ वर्षदेखि नछाएको घर । जोडले हावा लागे पनि कसरी जोगाउने उनलाई मुस्किल पर्छ । पानी परेका दिन चुलोचौका र मझेरी जलमग्न । यो वर्षजसोतसो घर छाउने योजनामा थिए । संयोग गएको स्थानीय तहको चुनावमा नेताहरूले खरको छाना विस्थापनलाई प्रमुख नारा बनाए । चुनाव प्रचारका लागि कुमाल बस्तीमा पुगेका सबै नेताका आश्वासन उनले पनि पाए । चुनावमा मन परेको पार्टीका उम्मेदवारलाई मतदान पनि गरे । त्यसपछिको प्रतिनिधि र प्रदेश सभा चुनावमा पनि उनले घर छाइदिने आश्वासन पाए । तर, अहिले उनको आश निराशामा परिणत बन्न थालेको छ । ‘बर्खा लाग्न थाल्यो, भर्खरैको पानीले घरभित्र पसिसक्नु छैन ।’-इस्मा गाउँपालिका-६ अम्मरपुरका ७२ वर्षीय रविलाल कुमालले भने । रविलालले भने-‘टिन पाइने आशमा खर पनि काटिएन । घर पनि छाइएन् ।’ पानी परे सोही स्थानकी रामकली कुमाललाई पनि भएको अन्नपात कता थन्क्याउने भन्ने चिन्ताले पिरोल्छ । ‘नेताले घर नछाउनुस टिनका पाता घरमै ल्याइदिन्छौ भने आशैआशमा एक वर्षबित्न थाले ।’-रामकलीले भनिन्-‘नाम टिपेर गएको पनि थुप्रो भए ।’ सानो झुपडी उनले प्रत्येक वर्षजेनतेन छाउँदै आएकी थिइन् । तर, विपन्न परिवारले अहिलेसम्म न टिन न खरले घर छाउन पाएका छन् ।

Photo20180424gulmi (1)

पटकपटक आश्वासन पाएपछि विश्वासमा बसेकाले अहिले धोका हुने देखिएको मालिका गाउँपालिका-५ छापका बोमबहादुर बिकले बताए । ‘दुई पटकको चुनावमा आश देखाए । नत्र ऋणधन गरेर छाउँथ्यौँ ।’-उनले भने-‘अहिले पानी परे थाल थाप्छौँ ।’ मालिका गाउँपालिका-६ की बालकुमारी बिक अचेल आकाश हेरेर ओछ्यान लगाउँछिन् । उनलाई पनि स्थानीय तहको चुनावमा घरघरमै नेता आएर टिनले घर छाइदिन्छौ भन्दा अहिले टिनले छाएको घरमै बस्छु भन्ने थियो । तर, अर्को बर्खा लाग्दा समेत कुनै सुरसार नदेखेपछि बालकुमारी अन्यौलमा छिन् । मदाने गाउँपालिका-३ सिर्सेनीकी ७३ वर्षीया पुतली बिक पनि पानी आए छिमेकीकोमा ओत लाग्न पुग्छिन् ।

इस्मा गाउँपालिकाले ‘जनतालाई हाम्रो भरः विपन्नलाइ सुरक्षित घर’ अभियान अन्तर्गत यस वर्ष ४ सय घरमा खरका छाना विस्थापित गर्न १ करोड रुपियाँ विनियोजन गरेको छ । भने धुर्कोट गाउँपालिकाले पनि यो वर्षखरका छाना विस्थापन गर्ने कार्यक्रमका लागि १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । मदाने गाउँपालिका र मालिका गाउँपालिकाले पनि जनता आवास कार्यक्रम अन्तर्गत खरका छाना विस्थापन गर्न १/१ करोड गाउँसभाबाट विनियोजन गरेका छन् । रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिकालगायतका अरू स्थानीय तहहरूले यो वर्षमात्रै २० लाख रुपियाँदेखि १ करोड ५० लाख रुपियाँसम्म बजेट विनियोजन गरेका छन् । तर, सबै स्थानीय तहहरूले प्रक्रियामै लामो समय खर्चेकाले विपन्न परिवारलाई समयमै राहत दिन सकिराखेका छैनन् । तथ्याङ्क सङ्कलन गरेर टेण्डर प्रक्रियामा रहेकाले केही समयमै चुनावी प्रतिबद्धता पुरा गरिने धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टका अनुसार टिन खरिदका लागि टेण्डर आह्वान गरेपनि एक जनाले मात्रै ‘ओभर रेट’मा टेण्डर हालेकाले पुनः टेण्डर खोलिएको बताए ।

Photo20180424gulmi (2)

स्थानीय तहहरू टेण्डरमार्फत सबै विपन्न परिवारलाई एउटै गुणस्तर र रङका टिन वितरण गर्ने योजनामा छन् । स्थानीय र केही वडाअध्यक्षहरूले भने उपभोक्ता समितिमार्फत टिन वितरण गर्न माग गर्दै आएका छन् । ‘वडाअध्यक्षहरूले पहिले देखिनै उपभोक्ता समितिमार्फत टिन वितरणको माग गरेका हौँ ।’-इस्मा गाउँपालिका-३ का अध्यक्ष गनुप्रसाद अधिकारीले भने-‘टेण्डर प्रक्रियामै गाउँपालिका अल्भिmयो । केही परिवारले आफैँ छाउन थाले ।’ मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलका अनुसार टेण्डर प्रक्रियाकै कारण अझै केही समय टिन बाँड्न सक्ने अवस्था छैन । ‘टेण्डर कसैले नहालेका कारण फेरि रि-टेण्डर गर्‍यौँ । उपभोक्ता समितिबाट काम गर्न पनि गाह्रो छ ।’-उनले भने-‘छलफलमै छौँ । कुनै न कुनै निकास निकाल्छौँ ।’ मदाने गाउँपालिका-६ का अध्यक्ष तोकम कुँवरले पनि गाउँपालिकामा बैठक बसिरहेकाले टेण्डर नपरे उपभोक्ता समितिमार्फत भएपनि टिन बाँड्ने बताए ।

‘खरका छाना मुक्त’-२०७४ सालका तीन वटै चुनावको प्रमुख एजेण्डा हो । त्यही भजन गाएरै विपन्न परिवारसँग भोट माग्नेहरू अहिले जनप्रतिनिधि र सांसदसमेत भए । पुरा भए विपन्न परिवारका लागि यो गतिलै उपहार हो । तर, निर्वाचित भएको थुप्रै समयसम्म पनि कामले गति लिन नसक्दा नागरिकमा निराशा छाएको छ । भोट राख्दा चैत वैशाखसम्म टिनले छाएको घरमुनी बसेको कल्पना गर्नेहरू पानी परेर थाल थाप्नुपर्ने अवस्था आएपछि अन्यौलमा छन् । भाषणलाई व्यावहारमा प्रयोग गर्न नसकेका जनप्रतिनिधि पनि टिन खरिद गर्ने प्रक्रियामा अल्मलिएका छन् ।

अन्य

भिडियो