INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मी कारागारमा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा लगभग तेब्बर कैदीबन्दीले भरिएपछि कारागारको व्यावस्थापनमा समस्या देखिएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले ६६ जना कैदीबन्दी रहेका छन् । अत्यन्तै जीर्ण र साँघुरो कारागार भएकाले खान, बस्न, सुत्न र अरू घरेलु उद्योग सञ्चालन गर्न साह्रै समस्या परेको भाइनाइके अम्मर श्रीसले बताए ।

Photo20180424Gulmi (1)

कारागारका कैदीबन्दीले पाउँदै आएको सिदा अत्यन्तै न्यून रहेको गुनासो गरेका थिए । कैदीबन्दीले दैनिक सिदा बापत खर्च ४५ रुपियाँ र ७ सय ग्राम चामल पाउँदै आएका छन् । बर्षौँ पुरानो सिदाको सुविधा न्यून हुँदा कैदीबन्दीलाई इन्धन, दाल, तरकारीलगायत व्यवस्थापन गर्न निकै समस्या परेको कारागारकी सह-सहलेखापाल खिमा अर्यालले बताइन् । ‘कैदीबन्दीका लागि १०/१२ वर्षपुरानो सेवा सुविधा छ, महङ्गीले चुचुरो छोइसक्यो ।’-उनले भनिन्-‘अहिले बजार मुल्य अनुसार सुविधा बढाउनुपर्छ ।’

जिल्ला कारागारमा महिला पुरूष एउटै भवनमा राख्नुपर्ने बाध्यताका कारण एउटा सानो कोठामा दुई जना आश्रति बालबालिका सहित महिला कैदीबन्दीहरू बसिरहेका छन् । धेरै पुरूषहरू र कम महिला भएका कारण महिलाहरूलाई शौचालय जाँदा समेत कुर्नुपर्ने बाध्यता रहेको कारागारका नाइके दिपक खड्काले बताए ।

Photo20180424Gulmi (2)

जिल्ला कारागारमा अनुगमन तथा निरिक्षण गर्न आउने केन्द्रदेखि जिल्लासम्मका सवैलाई कैदी बन्दी सहित कारागारको समस्या बताए पनि केहि सुनुवाइ नभएको खड्काले बताए । ‘बर्खामा पानी चुहिएर सुत्न सकिँदैन, हिउँदमा खानेपानी छैन ।’-उनले भने-‘गुनासा नगरेका कोही छैनन् । सबै टिपेर मात्र जाने भए ।’

निमित्त कारागार प्रमुख रामप्रसाद पन्थीले कारागारमा कैदीबन्दी पटकपटक बिरामी हुने, भवन जीर्ण, तेब्बर सङ्ख्या र खानेपानीको चरम सङ्कट भएकाले व्यावस्थापनमा साह्रै मुस्किल भएको बताए ।

Photo20180424Gulmi (3)

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले खानेपानीको विषयमा आफूहरू पनि संवेदनशील भएकाले केही समयमै कुनै प्रबन्ध मिलाउने बताए । साथै भवनको उपयुक्त जग्गा पाए नगरपालिकासँगै अरू कुनै निकायमार्फत समस्याको समाधान गर्ने आश्वासन दिए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले अरू धेरै संरचना अहिले खाली भएको सन्दर्भमा जिल्ला कारागारको व्यावस्थापन आफू पनि चिन्तित रहेको बताए ।

‘निर्वाचित भएपछि पहिलो पटक कारागार आएँ । अवस्था बिजोग रहेछ ।’-उनले भने-‘यो अवस्थाले मन छोएको छ । अवश्य पहल गर्छौँ ।’ जिल्ला कारागारमा अहिले महिला सात र परूष ५७ र दुई आश्रित बालबालिका गरी ६६ जना रहेका छन् ।

अन्य

भिडियो