INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतम यातना दिइएको घटनाबारे इन्सेकद्वारा अनुगमन

गोलबजार नगरपालिका–७ का ३० वर्षीय मोहमद इसानलाई इलाका प्रहरी कार्यालय गोलबजारको थुनुवा कक्षमा प्रहरीले यातना दिएको घटनाको इन्सेक मधेश प्रदेश कार्यालयले ०८३ वैशाख २ गते अनुगमन गरेको छ ।

इन्सेक मधेश प्रदेश कार्यालयका प्रदेश संयोजक राजु पासवान, इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार र मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाकी संयोजक तथा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले संयुक्त रुपमा घटनाको अनुगमन गर्नु भएको हो ।

०८२ चैत २७ गते १२ बजे तिर गोलबजार चौकमा गाडीमा यात्रु हाल्ने क्रममा बालिकाको हातमा रहेको चाँदीको बाला आफ्नो हातमा आएपछि बालिकाको आमाले हल्ला गरेका कारण इलाका प्रहरी कार्यालयका प्रहरीहरुले नियन्त्रणमा लिइ कुटपिट गरेको पीडित इसानले आरोप लगाएका छन्। मैले मलाई कुटपिट नगर्नुहोस् म बिरामी छु, मबाट गल्ती भयो भन्दा पनि कुटपिट गररिरहे । उनले भने राति फेरी थुनुवा कक्षमा लगेर हातमा हतकडी लगाएर बुट, लाठी, लात मुक्काले कुटपिट गर्दै तैले सुन चोरेको कहाँ छ भनेर यातना दिएको बताए । २८ गते पनि कुटपिट गरी सुन चोरेको कबुल गर्न लगाएको र मैले सुनको बारेमा केही थाहा छैन भन्दा दिनभरी राति प्रहरीले निर्मम यातना दिएको कारण बेहोस भएपछि चैत २९ गते गोलबजार नगरपालिका–४ स्थित लाइफ लोग अस्पतालमा लगेर उपचार गराएको पीडितको भनाइ छ  । कसैलाई नभन्नु भनेर प्रहरीले दबाब दिएको पीडितले बताए । स्वास्थ्य अवस्था खराब भएपछि पुन प्रादेशिक अस्पताल सिरहामा उपचार गराई एक हप्तामा प्रहरी कार्यालय आउनु भनी आफन्तको जिम्मामा रिहा गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएको र आफ्नो पहुँच नभएको भन्दै यातना दिने प्रहरीहरुलाई कानूनी कारबाही गर्न सहयोग गरी दिन अधिकारकर्मीहरुसँग पीडितले आग्रह गरे ।

इलाका प्रहरी कार्यालयका इन्सपेक्टर सुधन केसीले घटनाको भएको बेला आफू बिदामा बसेको बताउनु भयो । प्रहरीलाई सोध्दा चोरी गर्दा स्थानीयहरुले नै कुटपिट गरेको र २७ गते  ४ बजे तीर घटना भएकोले सो दिन म्याद थप गर्न नसकिएको बताउनु भयो । स्थानीयको कुटपिटबाट नै बिरामी भएकोले हामीले उपचारको लागि अस्पताल पुर्‍याएको र कुनै किसिमको यातना नदिएको बताउनु भयो । यता लाइफ लोगं अस्पतालका डाक्टरका अनुसार अस्पतालमा बिरामी ल्याउदा सास फेर्न गाह्रो भएर ल्याइएको  जानकारी दिएको थियो ।

  दुर्गा परियार

अन्य

भिडियो