विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार कार्यालय, मोरङमा कैद भुक्तान गरिरहेका पथरीशनिश्चरे नगरपालिका–५ का ६६ वर्षीय हर्कजङ्ग लिम्बूको उपचारका क्रममा मङ्सिर ११ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
शरीर सुन्निने र छाती दुख्ने समस्या भएपछि कोशी अस्पताल, विराटनगरमा उपचार भइरहेको अवस्थामा ०८२ मङ्सिर ११ गते लिम्बूको मृत्यु भएको कारागारका जेलर गौरव ढुङ्गेलले बताउनु भयो ।
शरीर सुन्निने र छातीका दीर्घरोगी लिम्बूलाई ०८२ असोज ७ गते कोशी अस्पतालमा भर्ना गरेपछि समयसमयमा उपचार हुँदै आएको थियो । उपचारकै क्रममा मङ्सिर ११ गते लिम्बूको मृत्यु भएको जेलर ढुङ्गेलले बताउनु भयो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएपछि लिम्बू ०८० साउन २८ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।
लिम्बूको शवलाई कोशी अस्पतालको शव गृहमा राखिएको छ ।
पीडित परिवारले घटना बारे सूचना दिइएको र पीडित परिवार आएपछि शव जिम्मा लगाउने तयारी गरिएको कारागार प्रशासनले जनाएको छ ।