INSEC Online

📅 २०८३ जेष्ठ २१

दोषी गिरफ्तार नभएसम्म शव नबुझ्ने पीडित परिवारको अडान

घरबाट हराएको १८ दिनपछि लेटाङ नगरपालिका–२ र वेलवारी नगरपालिकालाई जोड्ने बेलवारी चिसाङ सामुदायिक वन क्षेत्रमा ०८२ कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा बालिकाको शव फेला परेको घटनाका दोषी गिरफ्तार नभएसम्म शव नबुझ्ने पीडित परिवारले अडान राखेको छ ।

लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोककी १३ वर्षीया बालिका घरबाट हराएको १८ दिनपछि जङ्गलमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । सो घटनाका दोषी गिरफ्तार नभएकाले शव नबुझन् नसकिने पीडित परिवारको अडान छ ।

लेटाङ नगरपालिका–२ फडानीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँच अध्ययनरत बालिका ०८२ असोज २१ गते देखि हराएकी थिइन ।

लेटाङ–वेलवारी सिमानासँगैको वेलवारी चिसाङ जङ्गल क्षेत्रमा कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा बालिकाको शव फेला परेपछि प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपा लगेको थियो । शवको पोष्टमार्टम कात्तिक ७ गते भएपनि घटनाका दोषी गिरफ्तार र फरेन्सिक रिपोर्ट नआएसम्म शव बुझेर दाह संस्कार गर्न नसकिने मृतक बालिकाका ठूलो बुवा डिल्ली गौतमले बताउनु भयो ।

बालिका घरबाटै हराएसँगै पीडित परिवारले असोज २१ गते इलाका प्रहरी कार्यालय, लेटाङमा खोजी गरीदिन निवेदन दिएको थियो । घरबाट हराएको १८ दिनपछि शरीरका विभिन्न अङ्ग टुक्राटुक्रा पारिएको र कपडासमेत च्यातचुत पारिएको अवस्थामा बालिकाको शव घाँसदाउरा गर्नेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाका विषयमा तालिम प्राप्त कुकुर समेत परिचालन गरि अनुसन्धान गरेपनि शव दुर्गन्धित र सडेगलेको अवस्थामा फेला परेकाले अनुसन्धानमा केही जटिलता भएको जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले बताउनु भयो ।

जङ्गल क्षेत्रमा शव भेटिएकाले जङ्गली जनावरको आक्रमण वा बलात्कारपछि हत्या जे पनि हुनसक्ने भएकाले फरेन्सिक रिपोर्टपछि मात्र घटनाको कारण खुल्ने एसपी कटुवालले बताउनु भयो ।

पीडित परिवारले शव नबुझ्ने अडान राखेपनि अनुसन्धानको प्रक्रिया निरन्तर हुने भएकाले ढिलो चाँडो दोषी पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

विनोद सुवेदी

अन्य

भिडियो