गुल्मीको छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिका–२ जिमी बेसीका ३२ वर्षीय रेशम राना आर्थिक अभावले उपचार गराउन नसकेपछि दुई वर्षदेखि साङ्लो बाँधिएर बस्न बाध्य छन् ।
रानालाई मानसिक रोग लागेपछि परिवारले दाम्लोले बाँधेर राख्दै आएका छन् । उनी १५ वर्षदेखि मानसिक रोगबाट पीडित छन् । फलामको ठुलो साङ्गलोमा दुई बर्षदेखि खुट्टा बाँधेर राखिएको छ । साङ्गलोले रगडिएको देख्दा जीवन पशुको भन्दा फरक छैन् । मानसिक रोगका कारण उनले गर्ने अस्वभाविक क्रियाकलाप रोक्न परिवारले साङ्गलोमा बाँध्दै आएका छन् ।
रेशमले अहिले परिवारका सदस्य समेत चिन्दैनन् । साङ्गलोमा नराखे घरमा राखिएका सामान फाल्ने, नष्ट गर्ने, भागेर महिना दिनसम्म घरमा नआउने तथा मानिसलाई देखे झम्टिने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले बाँधेर राख्ने गरेको बुबा रेशबहादुर रानाले बताउनु भयो । उनका अनुसार रातको समयमा समेत बाहिरै बोराले बारिएको छुट्टै स्थानमा सुताउने गरिएको छ । ‘घरकालाई बानी प¥यो तर पाहुनाले आउँदा साह्रै गाह्रो हुन्छ, रातभर चिच्याएर सुत्न सकिदैन् ।’ उहाँले भन्नु भयो ।
रेशम १२ वर्षको उमेरमा काम गर्न भारत पुगेका थिए । केही वर्ष काम गररे घर परिवार पनि हेर्ने गर्थे । घर आउन हिडेका रेशमले अचानक रेलको झ्यालबाट हाम फाले । अचेत अवस्थामा परिवारले घर ल्याएका रेशमलाई सम्पत्ति सबै बिक्री गरेर टिचिङ अस्पताल लगायतका अन्य अस्पतालमा उपचार गराए पनि ठिक नभएको स्थानीय होसियारसिहं थापाले बताउनु भयो । थापाले घरको आर्थिक अवस्था कमजोर भएका कारण अहिले कुनै उपचार नभएको बताउनु भयो ।