INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधी अभावले सास्ती भोग्दै नागरिक

त्रिपुरासुन्दरी नगरपालिकामा आधारभूत औषधी अभाव हुँदा स्थानीय नागरिकहरूले सास्ती भोगेका छन् । नगरपालिका अन्तर्गतका १२ ओटै स्वास्थ्य संस्थामा सामान्य रोगको औषधी समेत नपाइएपछि बिरामीहरू रित्तै फर्किन थालेका हुन्।

जरो, रुघाखोकी, पेट दुखाइ, सङ्क्रमण तथा एलर्जीका बिरामी बढ्दै गइरहेका बेला सिटामोल, एमोक्सिसिलिन, जीवनजल, दमका औषधी लगायत अत्यावश्यक औषधी नै सकिएपछि समस्या भएको स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुले बताउनु भयो । उहाँका अनुसार लामो समयदेखि औषधी खरिद हुन नसक्दा स्वास्थ्य संस्थाहरूमा उपचार दिन कठिन भएको छ।

‘अहिले सामान्य प्रकारका औषधी पनि छैनन्। स्वास्थ्य चौकीका इन्चार्जहरूले औषधी अभाव भएको जानकारी पठाउनु भएको छ। बिरामी आए पनि आवश्यक औषधी दिन सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ।

डोल्पामा जाडो मौसम सुरु भएसँगै रुघाखोकी, जरो र श्वासप्रश्वास सम्बन्धी बिरामीको चाप बढेको छ। तर, नगरपालिकाको केन्द्रमा रहेको नगर अस्पतालमै समेत औषधी पर्याप्त छैन। नगर अस्पतालमा कार्यरत डाक्टर सुजन कठायतले सीमित औषधी भए पनि सबै बिरामीलाई उपचार दिन नसकिने अवस्था रहेको बताउनु भयो।

स्वास्थ्य संस्थामा औषधी नपाएपछि नागरिकहरू दुनै बजार वा जिल्ला बाहिर निजी मेडिकल धाउन बाध्य छन्। गरिब, वृद्ध, महिला र टाढाका बस्तीका नागरिकका लागि यो अवस्था झनै कष्टकर बनेको स्थानीयवासी बताउँछन्।

स्थानीय नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न तत्काल औषधी व्यवस्थापन गर्न माग गरेका छन्। हिमाली जिल्लामा सानो रोग पनि समयमै उपचार नपाए ज्यानका लागि जोखिम बन्न सक्ने भएकाले औषधी अभावप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ।

नगर प्रमुख जनचन्द्र रोकायाले कार्यकारी प्रमुख र लेखा अधिकृत समेत नभएकाले समस्या भइरहेको बताउनु भयो । ।

विष्णुप्रसाद देवकोटा

अन्य

भिडियो