पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले खोलिएका १२ ओटा स्वास्थ्य संस्था बन्द भएका छन् । नगरपालिकाले साउन १ गतेदेखि करार सेवाका कर्मचारीको म्याद नथप्दा नगरपालिकामा सञ्चालित ६ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ ओटा सामुदायिक स्वास्थ्य सेवा इकाइ बन्द भएका हुन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमध्ये ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकाका कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐन अनुरूप करारका कर्मचारी हटाइएको नगरप्रमुख लालवीर भण्डारीले बताउनु भयो । नगरपालिकाका १२ ओटा स्वास्थ्य सेवा केन्द्र बन्द भएको भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाको आन्तरिक आम्दानी न्यून हुँदा करारका कर्मचारी हटाउनुपर्ने बाध्यता बनेको उहाँको भनाइ छ ।
कर्मचारी हटाउँदा कार्यसम्पादनमा निकै समस्या भएको नगरप्रमुख भण्डारीले बताउनु भयो । शिक्षा र स्वास्थ्य तर्फका कर्मचारी नभएपछि कार्यसम्पादनमा समस्या भइरहेको भन्दै उहाँले अहिले नगरपालिकाले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न लागेको जानकारी दिनुभयो । पालिकाको आन्तरिक आम्दानीले कायम गर्न सकिने गरी ओएनएमको काम अघि बढाइएको उहाँको भनाइ छ । गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि सेवाग्राहीलाई समस्या भएको छ ।
नगरपालिकाको वडा नम्बर १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नम्बर ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नम्बर ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चतुरे, वडा नम्बर ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई र वडा नम्बर १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी बन्द भएका छन् । यस्तै वडा नम्बर ६ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ लाटीकाँडा, वडा नम्बर ८ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ दहसान्ने, वडा नम्बर ७ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ सिम्ताचौर तथा पैसरा, वडा नम्बर ९ मा रहेको सामुदायिक स्वास्थ्य एकाइ राग र वडा नम्बर १० मा रहेको सामुदायिक स्वास्थ्य एकाइ बच्छी बन्द भएका छन् । घरआँगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा टाढा रहेको सालकोट अस्पतालमा धाउनु परेको वडा नम्बर १ का धर्मजित थापाले बताउनु भयो ।