जाजरकोट अस्पतलामा एक महिनादेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा बन्द गरिएको छ । सरोकारवाला निकायले मेसिन मर्मत नगरी बेवास्था गरेपछि उपचारका लागि आएका बिरामीहरु समस्यामा परेका छन् ।
अस्पतालका व्यवस्थापक डाक्टर सुनिल पुनले ०८२ असोज ३ गते बिग्रिएपछि साधा एक्सरेको सेवा अवरुद्ध भएको बताउनु भयो । मर्मतका लागि नेपालमा सामान नपाउने र भारतबाट ल्याउनुपर्ने भएकोले मर्मतमा ढिलाइ भएको बताउनु भयो ।
उहाँका अनुसार केही दिनमा सामग्री आएपछि सेवा सुचारु हुनेछ । भेरी नगरपालिका वडा नम्बर ४ की सरस्वती शर्माले एक्सरे मेसिन नहुदाँ बाहिर जानु परेको बताउनु भयो । एक्सरे लगायत अस्पतालबाट पाउने सामान्य औषधी समेत नपाइएपछि समस्या परेको शर्माले गुनासो गर्नुभयो ।
अस्पतालमा एक्सरे सेवा नपाएपछि स्थानीयहरु उपचारका लागि रुकुम पश्चिमको चौरजहारी अस्पतालमा जान बाध्य भएका छन् । त्यति मात्रै होइन, कारागार र हिरासतामा राखिएका थुनुवा र कैदीबन्दीलाई समेत एक्सरे सेवा बन्द हुँदा समस्या परेको छ ।
स्थानीय तह, सरोकारवाला निकाय, अस्पताल व्यवस्थापन समितिको बेवास्ताका कारण एक्सरे सेवाको समाधान हुन नसकेको भेरी नगरपालि–३ की शोभा सिहले बताउनु भयो ।