कपिलवस्तु जिल्लामा दुई ओटा एआरटी सेन्टरबाट ६ सय २३ जना एचआईभी सङ्क्रमितले नियमित रूपमा एआरभी (एन्टीरेट्रो भाइरल) को सेवा लिँदै आएका छन् ।
कपिलवस्तु अस्पतालले सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कक अनुसार २०८२ असोज मसान्तसम्मको अवधिसम्म ८ सय २३ जना एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क छ ।
कपिलवस्तु अस्पतालका मेडिकल रेकर्ड अधिकृत सञ्जय कोइरीका अनुसार सङ्क्रमित मध्ये ४ सय ९० सङ्क्रमितले निरन्तर रूपमा एआरभी (एन्टीरेट्रो भाइरल) औषधी सेवन गर्दै आएका छन । जसमध्ये २ सय १९ जना महिला, २ सय २० जना पुरुष, १५ जना यौनिक अल्पसङ्ख्यक, १९ जना १५ वर्ष मुनिका बालक र १७ जना १५ वर्ष मुनिका बालिका रहेका छन् ।
अस्पतालका अनुसार असोज महिनामा मात्रै चार जना नयाँ सङ्क्रमित एआरभी औषधिका लागि थपिएका छन् ।
त्यसै गरी महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका एआरटी परामर्शदाता देवराज चौधरीका अनुसार सो सेन्टरमा हालसम्म १ सय ७७ जना सङ्क्रमितको तथ्याङ्क रहेको छ । जसमध्ये अहिले १ सय ३३ जना एचआईभी सङ्क्रमितले नियमित एआरभीको औषधी सेवन गरिरहेका छन् ।
त्यस्तै महाराजगञ्ज एआरटी सेन्टरमा एआरभीको सेवा लिनेहरूमा ६४ जना पुरुष, ५५ जना महिला, २ जना यौनिक अल्पसङ्ख्यक, ५ जना १५ वर्ष मुनिका बालक र ७ जना १५ वर्ष मुनिका बालिका रहेको परामर्शदाता चौधरीले बताउनुभयो ।
जिल्लाका दुवै एआरटी सेन्टरको तथ्याङ्कले हालसम्म जिल्लामा १ हजार जना एचआइभी सङ्क्रमित दर्ता भएको र ६ सय २३ जनाले एआरभीको सेवन गर्दै आएको तथ्याङ्कले देखाउँछ ।
एआरटी सेन्टरमा सङ्क्रमितलाई दिइने एआरभी (एन्टीरेट्रो भाइरल) औषधीले सङ्क्रमितको शरीरमा रहेको एचआइभीको भाइरल लोड कम गर्ने काम गर्दछ । जसका कारण सङ्क्रमितले अरूलाई सङ्क्रमण सार्न सक्ने सम्भाव्यता घटाउने काम गर्दछ ।
त्यसै गरी एआरभीका कारण शरीरमा सिडीफोर काउण्ट सेलको सङ्ख्यामा वृद्धि भई रोगसँग लड्न सक्ने क्षमतामा सुधार आउँदै जान्छ । तर कतिपय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू मौसमी रोजगारीमा जाने क्रममा बिचमै एआरभीको औषधी छोड्ने गरेको, कतिपय सङ्क्रमितले नै जोखिमपूर्ण व्यवहार गर्न खोजेको लगायतका समस्या रहेको चौधरीले बताउनुभयो ।
एआरटी सेन्टरमा सेवा लिइरहेका सङ्क्रमितको हरेक ६, ६ महिनाको अवधिमा अनिवार्य बेसलाइन अनुगमन गर्ने र सो क्रममा विभिन्न स्वास्थ्य परीक्षण गरिने भएकाले समेत सङ्क्रमितहरू एआरटी सेन्टरको सम्पर्कमा बस्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
हालसम्म एआरटी सेन्टरमा सेवा लिन आएका सङ्क्रमितहरू मध्ये सबै भन्दा बढी सङ्क्रमण मौसमी रोजगारीमा जाने व्यक्ति र तिनका परिवारका सदस्य, यौनिक तथा लैगिंक अल्पसख््यक र यौनकर्मी महिलाहरूमा देखिएको जनाइएको छ ।