अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) परियोजना पारित भएपछि विभिन्न ६ वटा राजनीतिक दल र २ वटा मोर्चाहरुले संयुक्तरूपमा आव्हन गरेको नेपाल बन्दले फागुन १६ गते सुर्खेतका शैक्षिक संस्थाहरू प्रभावित बनेका छन् ।
बन्दकर्ताहरुको दबावले विद्यालयको पठन पाठन हुन नसकेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षिका सरस्वती ज्ञवालीले जानकारी दिनुभयो ।
बन्दको आव्हनले अधिकांश विद्यार्थी विद्यालयमा नआएको, आएका विद्यार्थीहरू पनि बिचबाटोबाट फर्किएको र बन्दकर्ताहरूलेसमेत नाराजुलुस सहित शैक्षिक संस्था बन्द गर्न भनेकाले पठन पाठन हुन नसकेको उहाँको भनाइ छ ।
सुर्खेतका नौ ओटा स्थानीय तहमध्ये सवैभन्दा बढी वीरेन्द्रनगर उपत्यकास्थित अधिकांश विद्यालयहरूको पठन पाठन बन्द भएको शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजप्रसाद लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बन्दका कारण सुर्खेतमा नीजि र सरकारी गरी करिव २५ हजार बढी विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ ।
त्यस्तै, सुर्खेतमा बिहानैदेखि यातायातका साधहरू समेत ठप्प भएका थिए । एम्बुलेन्स, शववाहन, र मोटरसाइकल बाहेक अन्य सवारी साधनहरु बन्द रहेको र बन्दकर्ताहरू नाराजुलुस सहित सवारी साधन र बजार बन्द गराउँदै हिडका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गरेको भन्दै विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल, र क्रषि कट्टेल नेतृत्वको नेपाल कम्युष्निट पार्टी लगाएतले बन्दको आव्हन गरेका हुन् ।