खार्पुनाथ गाउँपालिका–१ स्थित कैलास आधारभूत विद्यालयमा कक्षा कोठाको अभावले पठनपाठन प्रभावित बनेको छ । पर्याप्त कक्षा कोठा नहुँदा बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीले कठिनाइ भोग्दै आएको विद्यालयका प्रधानाध्यापक लालबहादुर शाहीले बताउनु भयो ।
विद्यालयमा हाल बालविकासमा मात्रै ५३ विद्यार्थी रहेको र मापदण्डअनुसार चार कोठा आवश्यक भए पनि एउटै कोठामा सबैलाई कोचिएर पढाउन बाध्य भएको प्रधानाध्यापक शाहीको गुनासो छ । अत्यधिक भीडमा बसाईका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावितसँगै विभिन्न रोग सर्ने जोखिम बढेको पनि उहाँको भनाइ छ ।
कुल १ सय ५० विद्यार्थी रहेको विद्यालयमा घेरबार अभाव, कक्षाकोठाको जीर्ण अवस्था, सिलिङ नहुँदा धुलो–धुवाको समस्या, साथै जिर्ण शौचालय भएका कारण पठनपाठन थप कष्टकर बनेको छ । खेल मैदान र विद्यार्थीलाई दिवा खाजा बनाउने भान्सा पनि विद्यालयमा छैन । प्रधानाध्यापक शाहीका अनुसार विद्यालयको शिक्षक दरबन्दी पर्याप्त भए पनि भौतिक संरचनाको अवस्था दयनीय छ । गाउँपालिकामा चार–पाँच पटक निवेदन दिए पनि सुनुवाइ नभएको उहाँले सुनाउनुभयो ।
खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर शाहीले गाउँपालिका भित्रका सबै विद्यालयमा आवश्यक भौतिक तथा शैक्षिक सामग्रीको समस्या क्रमिक रूपमा समाधान गरिने बताउनु भयो ।