रुपनी गाउँपालिका–६ दुधौला खोलामा ०८२ माघ २४ गते बिहान खेलौना विस्फोट हुँदा चार जना बालकहरु घाइते भएका छन् । पिकनिकका क्रममा रकेट जस्तो देखिने खेलौना विस्फोट हुँदा बालकहरु घाइते भएका हुन्।
घाइते हुनेहरूमा सोही ठाँउका १६ वर्षीय कबिर थापा मगर, १४ वर्षीय सुरज विक ,१० वर्षीय साहस आले मगर र ९ वर्षीय देव थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले बताउनु भयाे । मधेश प्रदेश प्रहरी अस्पतालका संयोजक दीपेन्द्र यादवका अनुसार ढाडमा चोट लागेको सुरज विक र दुवै खुट्टा तथा पिठ्युँमा चोट लागेका साहस आले मगरको शल्यक्रिया गरिएको छ । दुवै हात र खुट्टामा चोट लागेका देव थापा मगरको शल्यक्रिया पश्चात आइसियुमा उपचार भइरहेको छ भने दाहिने हात, छाती र खुट्टामा चोट लागेका कबिर थापालाई सोही दिन उपचारपछि डिस्चार्ज गरिएको छ ।
प्रहरीका अनुसार बालबालिकाहरूले दाउरा खोज्दै गर्दा रकेट जस्तो देखिने खेलौना फेला पारेका थिए । सो वस्तु चुलो नजिकै लगेपछि विस्फोट भएको हो । घटनास्थलबाट फेला परेका फलामका टुक्रा संकलन गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।