INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तरजातीय विवाहकै कारण बिस्थापित हुनु परेको गुनासो  

अन्तरजातीय विवाहकै कारण गाउँबाट बिस्थापित हुनु परेको सुनसरी भोक्राहा नसिंङ गाउँपालिकाका एक दम्पत्तिले गुनासो गरेका छन् ।

विराटनगरको एक मन्दिरमा ०८२ असार १९ गते अन्तरजातीय प्रेमविवाह गरेका सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका ८ उल्टी टोलका २१ वर्षीय धनराज साह र भोक्राहा नर्सिंङ गाउँपालिका–६ की लक्ष्मी कुमारी यादवले ०८२ मङ्सिर २९ गते विराटनगरमा पत्रकार सम्मेलन गरी अन्तरजातीय विवाह गरेका कारण गाउँबाट विस्थापित हुनु परेको गुनासो गरेका हुन् ।

जातीय उत्पीडन, डर–धम्की र निरन्तर दवाबका कारण घरबार छाड्न बाध्य भएको पीडितको भनाइ छ  ।  विवाहपछि दुवै जनाले गाउँमै बस्न नसक्ने अवस्था आएपछि कहिले भारत त कहिले अन्यत्र लुकेर बस्न बाध्य भएको पत्रकार सम्मेलनमा बताएका छन् ।

पीडित दम्पतीले तत्लो जातको केटालाई ज्वाई स्वीकार्न नसकिने भन्दै केटी पक्षका परिवारबाट निरन्तर रुपमा धाकधम्की, दवाबका कारण  त्रसित हुनुपरेको  गुनासो पीडितको छ  ।

पत्रकार सम्मेलनमा धनराज साहले विवाह नमान्ने बेहुली पक्षले आफू र परिवारलाई ज्यानमार्ने धम्की दिँदै आएको र सोही कारण गाउँ छाड्न बाध्य हुनुपरेको बताउनु भयो ।  साहले आफूहरूले गाउँ छाडेपछि ससुरा उपेन्द्र यादवले आफ्ना बाबु गुणानन्द साहलाई बाँधेर कुटपिट गरेपनि प्रहरीले उजुरी लिन तयार नभएको आरोप लगाउनु भयो  ।

उमेर पुगेपछि राजीखुशी विवाह गरेपनि अहिले आएर आफ्नै परिवारले पतिलाई झुटा मुद्दा लगाइ फसाउने प्रयास गरिरहेको लक्ष्मी यादवले बताउनु भयो । यादवले आफ्नो माइती पक्षले ज्वाइँ स्वीकार्न नमानेको र आफूलाई पति छाडेर फर्कन लगातार दवाब दिइरहेको बताउनु भयो । विवाहपछि गाउँपालिकाको वडा कार्यालयमा विवाह दर्तासमेत गराइ सकेको दम्पत्तीले बताउनु भएको छ ।

लक्ष्मीले नागरिकता नबनेका कारण आफूलाई ‘नाबालिका’ देखाएर पतिलाई अपराधी ठहराउने गरी विभिन्न निकायमा उजुरी पुर्‍याइएको र योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप समेत लगाउनु  भएको छ ।

पीडित दम्पतीले मानवअधिकारको संरक्षण, सुरक्षाको प्रत्याभूतिसहित गाउँ फर्केर निर्धक्कसाथ स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग आग्रह गर्नु भएको छ .।

विनोद सुवेदी

अन्य

भिडियो