खार्पुनाथ गाउँपालिका–५ स्थित हिल्सा नौधारा आधारभूत विद्यालयमा व्यवस्थापन समिति र विद्यालय प्रशासनले खाजाको रकम अनियमिता गरेको भन्दै अभिभावकले पुस १२ गतेदेखि विद्यालमा तालाबन्दी गरेका छन् ।
विद्यालयमा विद्यार्थीको नाममा दिवा खाजावापत आएको रकम हिनामिना गरेको र उक्त हिसाव स्पष्ट नदेखाएकोले तालाबन्दी गरेको अविभावक संघका अध्यक्ष गजेन्द्र रोकायले बताउनु भयो ।
पाँच दिनदेखि विद्यालयमा तालाबन्दी गरेपछि विद्यार्थीको पठनपाठन समेत बन्द भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिर ऐडीले दिवा खाजा वापतको रकम बचेको स्वीकार गर्दै अविभावकले बचेको रकम विद्यार्थीको घरघरमा गएर विद्यालयले वितरण गर्नुपर्ने माग राखेकोमा त्यस्तो नमिल्ने भनेका कारण तालाबन्दी भएको बताउनु भयो । खाजा नखुवाएर रकम बचत गर्नु नीतिगत हिसाबले समेत नमिल्ने शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख योगेश आले मगरले बताउनु भयो ।