अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० पुस १६ गते देखि चैत १८ गते सन् २०२४ को पहिलो त्रैमासक (जनवरी देखि अप्रिलसम्म) को अवधिको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।
बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२४ को पहिलो तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २ सय १८ जना महिला र २२ जना पुरूष गरी २ सय ४० जना पीडित भए । यस अवधिमा राज्यपक्षबाट दुई जना पुरूष पीडित भए भने अन्यपक्षबाट २ सय ३८ जना पीडित भए ।
राज्य पक्षबाट हुने मानव अधिकार तथा ज्याततिका घटनाको अभिलेख कम भए तथापि अन्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा महिला तथा बालबालिका बढी पीडित हुने गरेका छन् । विशेष गरी महिला तथा बालिकाहरू बलात्कार तथा यौन जन्य हिंसाका घटनामा पीडित हुन पुगेका छन्
अभिलेखित घटना अनुसार अन्यपक्षबाट २० जना पुरुष र २ सय १८ जना महिला गरी २ सय ३८ जना पीडित भए । अभिलखित घटना अनुसार १२ जना महिलासहित २२ जनाका हत्या भयो । यो अवधिमा सबैभन्दा बढी बालबालिकाविरुद्ध भएका हिंसाका कारण एक जना बालक र ५५ जना बालिका सहित ५६जना पीडित भए । जसमध्ये ३४ जना बालिका बलात्कार र १६ जना बालिका यौन दुव्र्यवहारबाट पीडित भए ।
साथै, महिलाविरुद्ध हुने हिंसामा १ सय ५१ जना महिला पीडित भएकोमा २१ जना बलात्कार र नौ जना बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा पीडित भएका छन् ।
विभिन्न आपराधिक घटनामा सङ्लग्न आरोपितहरूमाथि पनि कानुनी कारबाही हुन नसक्नु लगायतका कारणले अन्य पक्षबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको देखिन्छ ।
यस अवधिमा काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीहरुलाई दु्व्र्यवहार गरेको आरोपमा फुटपाथ व्यापारीहरुले काठमाडौंको सुन्धारामा धर्ना दिए र उक्त घटनाको सांसदहरुले पनि आपत्ति जनाए ।
बलात्कार तथा यौन दुव्र्यवहार घटनाको कारक तत्व पहिचान नगरेका र साइवर अपराध सम्बन्धी ज्ञानको अभावका कारण घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन् । यस्ता गतिविधि हुन नदिन र न्यूनिकरण गर्न न्यायिक तथा सुरक्षा निकायलाई सबल तथा सक्षम बनाउन तथा आमनागरिकलाई उनीहरूको कर्तव्य बोध गराउनका लागि स्थानीय तहले सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू ल्याउनु आजको आवश्यकता देखिन्छ ।