INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन प्रक्रियाको स्वच्छता, निष्पक्षता र विश्वसनीयताका लागि मौन अविधको पालना : इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ फागुन १८ गते जारी गरेको विज्ञप्तिमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा नवयुवा पुस्ताको प्रदर्शनपश्चात विघटन गरिएको प्रतिनिधिसभाको निर्वाचन विशेष राजनीतिक परिस्थितिमा हुन लागेको छ । फागुन १८ गते मध्यरातदेखि लागू हुने मौन अवधिलाई हामीले अत्यन्त संवेदनशील समयका रूपमा लिएको छौँ । विगतका निर्वाचनहरूको अनुगमन अनुभवका आधारमा मौन अवधिमा मतदातालाई प्रभावमा पार्ने, आर्थिक प्रलोभन दिने, दुष्प्रचार गर्ने तथा अन्य आचारसंहिता विपरीत गतिविधि बढ्न सक्ने जोखिम रहने देखिएको छ। त्यसैले सो अवधिसहित सम्पूर्ण निर्वाचन प्रक्रियाभर कडाइका साथ निगरानी र नियन्त्रण गर्न आग्रह गर्दछौँ भनिएको छ ।

इन्सेकले २०४८ सालदेखि नेपालमा सम्पन्न विभिन्न निर्वाचनहरूको निरन्तर पर्यवेक्षण गर्दै आएको छ। यस निर्वाचनमा पनि देशभर २ सय ३२ जना पर्यवेक्षकमार्फत निर्वाचनपूर्व, निर्वाचनका दिन तथा निर्वाचनपश्चात अनुगमन गरिरहेको छ। निर्वाचनपूर्वको अनुगमनका क्रममा आचारसंहिता विपरीत गतिविधि, मतदातालाई आर्थिक प्रलोभन दिने प्रयास तथा द्वैध अर्थ लाग्ने अभिव्यक्तिजस्ता विषय अभिलेखीकरण गरिएको छ। यस्ता क्रियाकलापहरूले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित निकायले प्रभावकारी हस्तक्षेप गर्न आवश्यक छ ।

विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन; लोकतान्त्रिक अभ्यासप्रति जनविश्वास पुनःस्थापना गर्ने महत्वपूर्ण अवसर पनि हो। मतदाताले कुनै दबाब, त्रास वा प्रलोभनबिना स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकारको संरक्षण राज्यको प्रमुख दायित्व हो विज्ञप्तीमा भनिएको छ ।

अनलाइनडेस्क

अन्य

भिडियो