INSEC Online

📅 २०८३ जेष्ठ २१

तलव भत्ताको माग गर्दै कर्मचारीहरु आन्दोलित, कार्यालय र विद्यालयको पठनपाठन प्रभावित

 

नगराईन नगरपालिकाका कर्मचारीहरूले तलव भत्ताको माग गर्दै मङ्सिर १८ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका छन् ।

गत साउन महिनादेखि तलव, भत्ता नगरपालिकाले नदिएकोले आफूहरूलाई दैनिक जीवन यापन गर्न समस्या भइरहेको भएपनि नगरपालिकाले दशैँ, तिहार, छठलगायतको चाडपर्वको बेलामा समेत तलव, भत्ता निकासा नगरेको शिक्षक किसुन यादवले गुनासो गर्नु भयो ।

कर्मचारीहरूले संयुक्त सङ्घर्ष समिति गठन गरी मङ्सिर १४ गतेको बैठकको निर्णय अनुसार मङ्सिर १५ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।

मङ्सिर १६ गते नगराईन नगरपालिकामा कर्मचारीहरू भेला भई तलव, भत्ता निकासाका लागि ध्यानाकर्षण गराएको संयुक्त सङ्घर्ष समितिका संयोजक राकेशकुमार लाभले बताउनु भयो ।

विगत पाँच महिनादेखि तलव,भत्ता नदिएपछि बाध्य भएर आफूहरूले जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला समन्वय समिति धनुषा, शिक्षा विकास तथा समन्वय इकाई, नगरपालिकाको कार्यालयलाई जानकारी गराई नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी कर्मचारीहरू धर्नामा बसेको शिक्षक मेथुर यादवले बताउनु भयो ।

लामो समयदेखि तलव, भत्ता नपाएपछि खाना, लगाउन, बालबच्चाहरूको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा प्रभाव परेको उहाँको भनाइ छ ।

कर्मचारीहरूले नगरपालिकामा गरेको तालाबन्दीले गर्दा नगरपालिकाको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ ।

धर्नामा विद्यालयका शिक्षकहरू समेत बसेकाले विद्यालयका पठनपाठन समेत प्रभावित हुँदै आएको छ ।

नगराईनमा कार्यपालिकाका प्रमुख र उपप्रमुखलगायतको आन्तरिक विवादका कारण नगरपरिषद हुन नसकेर कुनै पनि योजना तथा कर्मचारीहरूको तलव, भत्ता दिन नसकेको नगराईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताउनु भयो ।

अन्य

भिडियो