लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराललाई नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाली कांग्रेस क्षेत्रीय सभापतिलगायतको टोलिले ०८० वैशाख १४ गते २४ घण्टा भित्र जिल्ला नछाडे मार्ने धम्की दिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।
६०/७० जनाको समूहमा रहेको टोलीले कार्यालय हाता भित्र प्रवेश गरेर कार्यालयको टेबुल तथा कुर्सी समेत तोडफोड गरेको थियो ।
नेवि संघको जिल्ला सचिव बताउने सुन्दर अधिकारीले मोवाइलबाट फोन गरी २४ घण्टाभित्र जिल्ला नछाडे मर्ने धम्की दिएको निकुञ्ज प्रमुख बरालले बताउनु भयो ।
सदरमुकाम धुन्चेमा रहेको निकुञ्ज कार्यालयमा तोडफोट गरी नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समक्ष मागपत्र पेस गरेका थिए।
माग पत्रमा निकुञ्ज प्रमुखले आफूखुसी वातावरणीय प्रभाव मूल्याङ्कन गरेको, पालिकाहरूसँग समन्वय नगरेको, मध्यवर्ती कोषको रकम मनलाग्दी ढङ्गले खर्च गरेको, मनलाग्दी कर्मचारी भर्ना गरिएकोलगायतको विषयमा आपत्ति जनाइएको छ ।
माग राखेको र दुवै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताउनु भयो ।