INSEC Online

📅 २०८३ जेष्ठ २२

गुठि संस्थानका अमिन उपर कार्यकक्षमै हातपात तथा दुर्व्यवहार

गुठी संस्थान जनकपुरधामका अमिन ३५ वर्षीय प्रभात चन्द्र पोखरेललाई जनकपुरधाम उमनपा–४ रामचोक बस्ने ४० वर्षीय नेकपा एमालेका जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीले मङ्सिर २९ गते कार्यकक्षम हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
जनकपुरधाम उमनपा–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कठ्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कात्तिक २९ गते गरेको बोलपत्र आह्वानको अन्तिम दिन मङ्सिर २९ गते १३ बजेसम्मको समयसिमा दिइएको थियो । सोही विषयमा विवाद हुँदा अमिन पोखरेललाई नेता भण्डारीले हातपात तथा दुर्व्यवहार गरेको थियो ।
क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने संजय कुमार मण्डलले टेण्डरका लागि आवेदन दिन मङ्सिर २९ गते अन्तिम दिन दिउँसो १२ बजे टेबलमा फाइल राखेपछि आवेदन दर्ता गर्न लाग्दा नेता भण्डारीले निवेदन दर्ता नगर्न दबाब दिँद हातपात तथा दुर्व्यवहार गरेको पीडित अमिनले बताउनुभयो ।
यता, नेता भण्डारीले आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गर्नुभएको छ । उहाँले अमिन पोखरेलले टेण्डरको आवेदन दर्ता गर्ने समय सकिसके पश्चात् पनि आवेदन दर्ता गरेको आरोप लगाउनुभयो । नेता भण्डारीले अमिन पोखरेललाई समयअवधिभित्रै टेण्डर दर्ता गर्न आग्रह मात्र गरेको बताउनुभयो ।
पीडितले घटनाबारे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय साथै गुठि संस्थानलाई जानकारी गराएको बताउनुभयो ।

 

अन्य

भिडियो