सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–८ उल्टी टोलका २१ वर्षीय धनराज साह र भोक्राहा नर्सिंङ गाउँपालिका–६ की २० वर्षीया लक्ष्मीकुमारी यादवले ०८२ असार १९ गते अन्तरजातीय विवाह गरेपछि धनराजका बाबु देवनारायण साहलाई खाँबोमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले भोक्राहा नर्सिङ गाउँपालिका–६ उल्टी टोलका उपेन्द्र यादवलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
छोरी भगाएको आरोपमा ०८२ कात्तिक २० गते उपेन्द्र यादवले धनराजका बाबु देवनारायण साहलाई घरको आँगनमा रहेको खाँबोमा बाँधेर कुटपिट गरेका थिए ।
कुटपिटपछि सार्वजनिक भएको भिडियो र पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले उपेन्द्र यादवलाई गिरफ्तार गरेको हो ।
अन्तरजातीय विवाह गरेका कारण गाउँबाट विस्थापित हुनु परेको भन्दै ०८२ कात्तिक २९ गते २१ वर्षीय धनराज साह र भोक्राहा नर्सिंङ गाउँपालिका–६ की २० वर्षीया लक्ष्मीकुमारी यादवले विराटनगरमा पत्रकार सम्मेलन गरेका थिए ।
जातीय उत्पीडन, डर–धम्की र निरन्तर दवाबका कारण घरबार छाड्न बाध्य भएको पीडितको भनाइ छ । विवाहपछि दुवै जनाले गाउँमै बस्न नसक्ने अवस्था आएपछि कहिले भारत त कहिले अन्यत्र लुकेर बस्न बाध्य भएको पत्रकार सम्मेलनमा बताएका थिए ।
पीडित दम्पतीले तत्लो जातको केटालाई ज्वाई स्वीकार्न नसकिने भन्दै केटी पक्षका परिवारबाट निरन्तर रुपमा धाकधम्की, दवाबका कारण त्रसित हुनुपरेको गुनासो पीडितको छ ।
पत्रकार सम्मेलनमा धनराज साहले विवाह नमान्ने बेहुली पक्षले आफू र परिवारलाई ज्यानमार्ने धम्की दिँदै आएको र सोही कारण गाउँ छाड्न बाध्य हुनुपरेको बताएका थिए ।
साहले आफूहरूले गाउँ छाडेपछि ससुरा उपेन्द्र यादवले आफ्ना बाबु देवनारायण साहलाई बाँधेर कुटपिट गरेको बताएका थिए ।
उमेर पुगेपछि राजीखुशी विवाह गरेपनि अहिले आएर आफ्नै परिवारले पतिलाई झुटा मुद्दा लगाइ फसाउने प्रयास गरिरहेको लक्ष्मी यादवले बताउनु भयो । यादवले आफ्नो माइती पक्षले ज्वाइँ स्वीकार्न नमानेको र आफूलाई पति छाडेर फर्कन लगातार दवाब दिइरहेको बताउनु भयो । विवाहपछि गाउँपालिकाको वडा कार्यालयमा विवाह दर्तासमेत गराइ सकेको दम्पत्तीले बताउनु भएको छ ।
लक्ष्मीले नागरिकता नबनेका कारण आफूलाई ‘नाबालिका’ देखाएर पतिलाई अपराधी ठहराउने गरी विभिन्न निकायमा उजुरी र्पुयाइएको र योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप समेत लगाउनु भएको छ ।
पीडित दम्पतीले मानव अधिकारको संरक्षण, सुरक्षाको प्रत्याभूतिसहित गाउँ फर्केर निर्धक्कतासाथ स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग आग्रह गर्नु भएको छ ।।
अन्तरजातीय विवाहकै कारण गाउँबाट बिस्थापित हुनु परेको सुनसरी भोक्राहा नसिंङ गाउँपालिकाका एक दम्पत्तिले गुनासो गरेका छन् ।