मालारानी गाउँपालिका–४ स्थित समाज कल्याण प्राविको क्वारेण्टाइनमा रहेका २० वर्षीय दिनेश घिमिरेले जेठ २० गते दलितले पकाएको खाना बहिस्कार गरी जातीय विभेद गरेको दलित युवाहरूले आरोप लगाएका छन् ।
आरोपित घिमिरे जेठ २० गते भारतबाट आएर क्वारेण्टाइनमा बसेका थिए । घिमिरेले आफु भारतमा संस्कृत अध्ययन गर्ने र पुजापाठ गर्ने गरेको बताउदै दलितले पकाएको खाना खाए बिरामी हुने भन्दै क्वारेण्टाइनको खाना बहिस्कार गरेर घरबाट खाना मगाएर खाएको स्थानीइ लिलबहादुर विकले बताउनु भयो ।
स्थानीय युवाहरूले उक्त क्वारेण्टाइनमा रहेका आठ जना व्यक्तिलाई प्रतिव्यक्ति १ सय ६० रुपियाँको दरले ६ दिन देखि खाना खुवाउदै आएका थिए ।
क्वारेण्टाइनमा भान्सेको काम गर्दै आउनु भएका कृष्ण विकले जेठ २० गते साँझ क्वारेण्टाइनमा आएका दिनेश घिमिरेले मैले खाना पकाएको देखेपछि दलितले पकाएको खाना खाए पागल हुने, बिरामी हुने भन्दै स्थानीय पुरुषोत्तम भुसाललाई घरबाट खाना मगाएर खाएको बताउनु भयो ।
खाना नखाएपछि समाज कल्याणको क्वारेण्टाइनबाट सोही वडाको कालिका माविको क्वारेण्टाइनमा राखिएको छ । उक्त क्वारेण्टाइनमा उनी एक्लै रहेका छन् ।
कृष्ण बिकले जातीय विभेद गर्ने घिमिरेलाई कानुनी कारवाही हुनु पर्ने माग गरेपनि यस विषयमा कही उजुरी दिएका छैनन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाका अनुसार घटनाका बारेमा जानकारी आएपनि उजुरी नपरेको बताउनु भयो । मालारानी गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु घर्तीले घटनाबारे जानकारी आएकोले बुझ्ने काम भइरहेको बताउनु भयो ।