INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका घाइते सन्तोषलाई थप उपचारका लागि काठमाडाैँ लगियो

भदौ २४ गते जेनजी आन्दालेनका क्रममा घाइते भएका वीरेन्द्रनगर नगरपालिका–२ का २६ वर्षीय सन्तोष बोहरालाई कात्तिक १४ गते थप उपचारका लागि काठमाण्डौं लगिएको छ । आन्दोलनका क्रममा वीरेन्द्रनगर नगरपालिका–७ इत्राममा ०८२ भदौ २४ गते प्रहरीले चलाएको गोली दाहिने आँखामा लागेर सन्तोष घाइते हुनुभएको थियो । प्रदेश अस्पताल सुर्खेतमा उपचार सम्भव नभएपछि उहाँलाई नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकका अनुसार उहाँको दुवै आँखाका नानी गुमेका छन् । थप उपचारका लागि कात्तिक १४ गते बिहान नेपालगञ्जबाट हवाई मार्फत तिलगंगा आँखा अस्पताल काठमाण्डौं र टिचिङ अस्पतालमा लिइएको उहाँकी पत्नी निर्मला खड्काले जानकारी दिनुभयो ।  उहाँका अनुसार, सन्तोषको अस्पताल भित्रको सम्पूर्ण खर्च अस्पताल प्रशासनले निःशु्ल्क गरेपनि यातायात, अस्पताल भित्र नपाइने औषधि लगायतका सामग्रीहरु किन्दा आर्थिक समस्या भएको छ । आफन्तजन र दाताहरुको सहयोगले खर्च व्यवस्थापन गरिरहेको निर्मलाले बताउनु भयो ।

सन्तोषको परिवारको आर्थिक अवस्था कमजोर छ । पाँच कठ्ठा जमिन र एउटा घर मात्रै छ । बेरोजगार रहनुभएका सन्तोष कोरोसिया जाने तयारीमा हुनुहुन्थ्यो । तर, आन्दोलनमा घाइते भएर दुबै आँखा गुमाएपछि उहाँको सपना पुरा हुन सकेन ।

सन्तोषको घरमा आमा बुवा र पत्नी, छोरी रहेका छन् । आन्दोलनमा भएको तोडफोड र आगजनीका घटनाहरूको अभिलेख इन्सेक कर्णाली प्रदेश कार्यालयको गरेको छ । अभिलेखित घटना अनुसार आन्दोलनका क्रममा कर्णाली प्रदेशमा ३५ जना घाइते भएका थिए । घाइतेहरु मध्ये १८ जनालाई गोली लागेको छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो