प्रहरीलाई कुकरले आक्रमण गरी भाग्न खोजेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई कात्तिक ३० गते गोली प्रहार गरी गिरफ्तार गरेको छ ।
खाँदबारी नगरपालिका–१ स्थित अस्पताल चोकको पाँचखपन चुङखुरुङ होटलमा शङ्कास्पद अवस्थामा फेला परेका विश्वकर्माले सोधपुछका क्रममा प्रहरीमाथि खुकुरी देखाएर आक्रमण गरेपछि प्रहरीले बाँया तीघ्रामा गोली चलाएर विश्वकर्मालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।
आपराधिक पृष्ठभूमिका विश्वकर्माले प्रहरीलाई कुकरले प्रहार गर्नुका साथै खुकुरी देखाएर भाग्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएर विश्वकर्मालाई गिरफ्तार गरेको डिएसपी मैनालीले बताउनु भयो ।
प्रहरीले चलाएको गोली प्रहारबाट घाइते भएका विश्वकर्माको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपामा कात्तिक ३० गते भर्ना गरी उपचार भइरहेको छ ।
फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी खोजतलास गर्न प्रहरी टोली खटिएको थियो ।
फरार मुद्दाका प्रतिवादी खोजी गर्न क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको डिएसपी मैनालीले बताउनु भयो ।
चोरीका पटके मुद्दामा विश्वकर्मा केही समय अघि कारागार बसेर सजाय भुक्तान गरी निस्केका थिए ।
कारागारबाट निस्किएपछि विश्वकर्मा माथि सात ओटा चोरीको उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।