INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन धन्दामा लगाएको घटनाका आरोपित गिरफ्तार

२० र २१ वर्षीया युवतीलाई बन्धक बनाएर देह व्यापार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीले मोरङ विराटनगर महानगरपालिका–५ स्थायी घर भई झापाको मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल,मेचीनगर नगरपालिका–७ का ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका–६का ४७ वर्षीय सूर्य भनिने श्यामप्रसाद शिवाकोटीलाई फागुन ८ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले बताउनुभयो ।

फागुन ८ गते मेचीनगर नगरपालिका–६ स्थित पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा पीडित युवतीद्वयले घटनाका विषयमा जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको डिएसपी पोखरेलले बताउनुभयो ।

आरोपितहरूले मेचीनगर नगरपालिका–७ स्थित प्यारी भिट्टामा चार तले १६ कोठे भवन भाँडामा लिएर यौनधन्दा चलाउँदै आएको अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलले बताउनुभयो ।

आरोपित तीन जना विरूद्ध प्रहरीले जिल्ला अदालतमा मानव बेचबिखन तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

पीडितद्वयको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा फागुन ८ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो