INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको पाईप बिछ्याउँदै गरेका अभियान्तामाथि प्रहरीद्वारा कुटपिट

निर्माणाधीन दैलेखबजार खानेपानी आयोजनाको पाईप बिछ्याउने काममा जुटेका दैलेखबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ५४ वर्षीय अध्यक्ष बलराम श्रेष्ठ, ४५ वर्षीय कोषाध्यक्ष भरतबहादुर थापा, ३७ वर्षीय मर्मतसम्भारकर्ता टेकबहादुर खत्री र २३ वर्षीय गाडी चालक शङ्कर भट्टराईलाई प्रहरी हवल्दार नन्दबहादुर बुढाको टोलीले फागुन ६ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित सबै जना नारायण नपा-१ दैलेखबजारका स्थानीय बासिन्दा हुन् ।

प्रहरी प्रशासनलाई लिखित जानकारी दिई एक महिनादेखि सदरमुकामको मुलबजारभित्र काम गर्दै गरेका पदाधिकारी र कर्मचारीसमेत चार जना माथि परिचय दिँदादिँदै प्रहरीले कुटपिट गरेको पीडितहरूको आरोप छ ।

घटनाका विषयमा प्रतिक्रिया माग्दा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी केदार रजौरेले सामान्य विवादमा धकलपकल मात्र भएको प्रतिक्रिया दिए ।

हवल्दार बुढाका साथसाथै सिपाहीहरू महेन्द्र शाही, शिशिर सिंह र एमबी रानाले विना कारण कुटपिट गरेको पीडित पक्षको आरोप छ । आरोपित प्रहरीहरूलाई कारबाही नभएकोप्रति दैलेख दैलेखबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलराम श्रेष्ठद्वारा फागुन ७ गते जारी विज्ञप्तिमार्फत असन्तुष्टी जनाइएको छ ।

प्रहरीको कुटाइबाट कोषाध्यक्ष भरतबहादुर थापाको देबे्र हातको तीन वटा औंलाको हड्डी भाँचिएको छ । कुटपिटको क्रममा चारै जनालाई गोडा र ढाडमा लाठी तथा बन्दुकको कुण्दाले प्रहार गरेको ठाउँमा निलडाम देखिएको छ ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपाचार भइरहेको छ । सुरक्षा दिनुपर्ने प्रहरीले जानकारी दिएर पनि पदाधिकारी र कर्मचारी माथि कुटपिट गरिएको घटनाप्रति स्थानीय बासिन्दाले प्रहरी प्रशासनको अशोभनीय कार्य भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

अन्य

भिडियो