INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक कुटपिट घटनाका आरोपित गिरफ्तार

बेदकोट नगरपालिका–३ दैजींका ९ वर्षीय बालक राजेश भण्डारीलाई बन्धक बनाइ डोरीले हात बाँधी कुटपिट गर्नुका साथै घरमा पालेको कुकुर फुकाएर टोक्न लगाएको आरोपमा प्रहरीले बेदकोट नगरपालिका– ५ पोल्खरीका ३६ वर्षीय भोज नाथलाई ०८३ वैशाख १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख १६ गते ज्यान मार्ने उद्देश्यले अमानवीय तरिकाले बालक माथि कुटपिट गरेको भन्दै पीडित पक्षले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

कुटपिटबाट घाइते भएका बालकको उपचारको क्रममा टाउकामा टाँका समेत लगाइएको छ । बालक हजुरआमा सँगै बस्दै आएका थिए । हजुर आमा ममता भण्डारीका अनुसार वैशाख १६ गते दिउँसो गाईगोरु पनि हेर्न र नजिकै चौधर नदी किनारामा अन्य केटाहरुसँग क्रिकेट खेल्ने क्रममा बल नदीमा खस्दा बल ल्याउन नदीमा गएको अवस्थामा नजिकै काक्रा तरभुजाको खेतीबारी रहेको र बालक बारीमा काक्रा चोर्न आयो भन्ने निहुँमा आफ्नो घरमा लगेर कुटपिट गरेका थिए । भोजनाथले बालकको दुवै हात पछाडी तिर र दुवै खुट्टा डोरीले बाँधी भुईंमा लडाई ढुङगा, लाठी, खुट्टा, हात, मुक्काले रक्तामे हुने गरी कुटपिट गरी बेहोस बनाएका थिए । उनले बालकलाई मार्नु पर्छ भनी घरमा बाधेर राखेको कुकुर फुकालेर डोरीले बाधेकै अवस्थामा टोक्न लगाउदा गाउँलेहरुले देखेपछि बालकको उद्धार गरेका थिए ।

बालकको उद्धारमा गएका व्यक्तिहरूमाथि समेत भोजनाले गाली गलौच समेत गरेका थिए ।

पीडित बालकको वैशाख १६ गते महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिनुका साथै रेविज विरुद्धको सुई पनि लगाइएको छ ।

घटनाको विषयमा उजुरी प्राप्त भएको र थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिसपी हेम बहादुर शाहीले बताउनु भयो ।

घटनालाई लिएर बाल अधिकार तथा मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा लिँदै अधिकारकर्मीहरूले निन्दा गरेका छन् । घटनापछि पीडितलाई न्याय दिलाउन तथा अनुसन्धानलाई राजनीतिक हस्तक्षेपबाट प्रभावित गर्न नदिन माग गर्दै मानव अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी र डिएसपीसँग वैशाख १७ गते भेट गरेका छन् । प्रहरीले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता भेटका क्रममा व्यक्त गरेको छ ।

 

लिली कुँवर

अन्य

भिडियो