ठुलिभेरी नगरपालिका–३ मा पर्ने नेपाली सेनाको सुलिगाड चेकपोष्टमा कार्यरत जवान सुरज दमाईले मादक पदार्थ सेवन गरी सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै उजुरी परेको छ ।
पुस ३ गते बेलुकी करिब साढे ६ बजे ठुलिभेरी नगरपालिका–६ का ओमप्रसाद रोकायालाई कुटपिट गरेको भन्दै उपचार र सुरक्षाको मागसहित पीडितले पुस ४ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएका हुन् ।
पीडित रोकायाका अनुसार सुलिगाड चेकपोष्टमा गाडी चेकजाँच भइरहेको अवस्थामा दुनैबाट मादक पदार्थ सेवन गरी आएका आरोपितले बिना कारण गाडीबाट बाहिर निकालेर कुटपिट गरेका हुन् ।
कुटपिटबाट रोकायाको दायाँ घुँडा, हात र कम्मर, बङ्गारामा चोट लागेको छ। जिल्ला अस्पताल डोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रेफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुकबहादुर खड्काले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने सैनिक जवान विरुद्ध पीडितको निवेदन परेको बताउनु भयो । उहाँले घटनामा संलग्न सैनिक जवानलाई कारबाहीका लागि गुल्मपतिलाई आग्रह गरिएको र सैनिक नियमानुसार प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।
डिएसपी खड्काका अनुसार कुटपिटबाट घाइते रोकायाको सम्पूर्ण उपचार खर्चसमेत सम्बन्धित सैनिक जवानले नै व्यहोर्ने गरी नेपालगन्ज रेफर गरिएको छ।