भिमदत्त नगरपालिका–१८ भगतपुरस्थित कञ्चनपुर जिल्ला कारागारमा ०८२ चैत २५ गते साँझ कैदीबन्दीबिच झडप हुँदा पाँच जना कैदीबन्दीहरु घाइते भएका छन् ।
घाइते हुने कैदीबन्दीहरूमा शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, सोही नगरपालिका–११ का १९ वर्षीय भुवन नाथ, सोही ठाउँका २६ वर्षीय भुवन ऐर, भिमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई रहेका छन् ।
दुई समूहमा रहेका कैदीबन्दीहरुबिच झडप हुँदा घाइते भएका पाँचै जनालाई उपचारका लागि माहाकाली प्रदेशिक अस्पतालमा पठाइएको र स्थिति नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
क्षमता भन्दा दुई गुण बढी कैदीबन्दी राखिनु, लागु औषध अन्तर्गत मुद्दा खेपिरहेका र अन्य कैदीबन्दीहरु पनि एकै ठाउँमा राखिनु लगायतका समस्याले गर्दा बिगतदेखि नै कैदीबन्दीहरुबिच झडप हुने गरेको र कारागार भित्र शान्तिसुरक्षा कायम गर्न झैझगडा गर्ने कैदीबन्दीहरुलाई अन्यत्र कारागार पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनु भयो ।
कञ्चनपुर जिल्ला कारागारका प्रमुख हेमन्त साउदले दुई समूहबिच आपसी वादविवाद हुँदा झडप हुन गएको र घटनाको मूल कारण नखुले पनि लागुऔषध मुद्दा र अन्य मुद्दा खेपिरहेका कैदीबन्दीबिच आपसी असमझदारीले विवाद उत्पन्न भएको बताउनु भयो ।
पछिल्ला केही महिनायता यस कारागारमा निरन्तर रुपमा झडपका घटनाहरू हुँदै आएका छन् । कैदीबन्दीले राज्यबाट पाउने सेवासुविधाको माग गर्दै गत पुस ४ गते आठ जना कैदीबन्दी घाइते भएका थिए भने ०८२ चैत ८ गते कैदीबन्दीबिच पुनः झडप हुँदा दुई जना कैदीबन्दी घाइते भएका थिए । कुटपिट गर्ने कार्यमा संलग्न गरिएको भन्दै सो समयमा पनि १३ जना कैदीबन्दीहरुलाई अन्यत्र स्थानान्तरण गरिएको थियो ।
कारागारभित्र लागुऔषध लगायतका गैरकानुनी गतिविधि समेत हुने गरेको कैदीबन्दीहरुले खुलासा गरेका थिए । कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबिच झडपका घटनाहरु निरन्तर रुपमा भएपछि घटनाको छानबीन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा समिति बनाइ छानबीन गरिएको भए पनि सो समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन् ।