घोराही कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत १० गते गरेको अनुगमनका क्रममा जिल्ला कारागार कार्यालय घोराहीका जेलर थमन खड्काले १ सय २५ जनाको क्षमता रहेको कारागारमा हाल ४ सय २९ कैदीबन्दी राखिएको जानकारी दिनुभएको हो ।
तीनगुणा कैदीबन्दी भएपछि बसाई व्यवस्थापनमा समस्या भएको कारागारले जनाएको छ । जिल्ला कारागारमा २ सय ३६ कैदी र १ सय ९३ थुनुवा राखिएको छ । जिल्ला अदालत नजिकै पर्ने भएकाले थुनुवाहरु प्रायः जिल्ला कारागारमै राखिएको छ । उनीहरुलाई अदालत उपस्थित गराउदा ल्याउन, लैजान सहज हुने भएकाले धेरै थुनुवाहरु जिल्ला कारागारमा राखिएको पाइएको छ । आफ्नै खानेपानी बोरिङ रहेकाले पानीको समस्या नभए पनि संख्या धेरै हुँदा बसाइमा समस्या भएको जेलर खड्काले जानकारी दिनुभयो । कारागारमा २२ जना दीर्घरोगी र ६ जना मानसिक समस्या भएका व्यक्तिहरु रहेको जेलर खड्काले जानकारी दिनुभयो ।
जिल्ला कारागारमा खानेपानीका लागि बोरिङ र फिल्टर राखिएको छ भने स्वास्थ्य उपचारका लागि सिनियर अहेब र औषधीको व्यवस्था गरिएको छ । त्यस्तै पुस्तकालय, खेलकुद, डान्स क्लास, योगा, पत्रपत्रिका र टेलिभिजन, फोन सुविधा र कतिपयले गलैचा, मुढा, फर्निचरजन्य सामग्री उत्पादन गर्ने व्यवस्था पनि मिलाइएको जेलर खड्काले बताउनुभयो । कारागारमा १४ वटा शौचालय, पाँच ओटा वाथरुमको व्यवस्था गरिएको र सरसफाईमा समस्या नरहेको उहाँले जानकारी दिनुभयो । सातै दिन टेलिफोन सुविधा छ भने आइतबार, मंगलबार र बिहीवार पारिवारिक भेटघाटको व्यवस्था गरिएको छ । हप्तामा सोमबार र बुधवार कारागारभित्रै गएर स्वास्थ्य जाँच गरिन्छ भने समस्या पर्दा २४ सै घण्टा स्वास्थ्य सेवा र औषधीको व्यवस्था गरिएको छ । गम्भीर खालको उपचारका लागि भने कारागारले केन्द्रीय कारागार विभागमा रिफर गर्ने गरेको छ ।
जेलर खड्काले १ विगाह १३ कट्ठा जमिनमा रहेको जिल्ला कारागारको बाहिरी पर्खाल नहुँदा असुरक्षा रहेको बताउनुभयो । संघ र प्रदेश सरकारलाई पटक पटक आग्रह गरे पनि काम नहुँदा जोखिम कायमै रहेको उहाँले बताउनुभयो । यस्तै भेटघाटका क्रममा कैदीबन्दीहरुले आफूहरुको मतदाता नामावली बनाइदिन माग गरेका थिए । कारागारका नाइके विवेकसिंह ठकुरीले धेरैजसोको मतदाता नामावली नभएकाले नामावली दर्ताका लागि पहल गरिदिन आग्रह गर्नुभयो । अनुगमनमा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनको नेतृत्वमा पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो ।