अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तुलसीपुर कारागार कार्यालयको अनुगमन गरेको छ। अनुगमनका क्रममा कारागार व्यवस्थापन, कैदीबन्दीको अवस्था, आधारभूत सेवा तथा सुरक्षा अवस्थाबारे जानकारी लिइएको थियो।
कारागारका जेलर गिरबहादुर सेजुवालका अनुसार ४ सय जना क्षमताको तीन वटा ब्लक रहेको तुलसीपुर कारागारमा हाल ४ सय १५ जना कैदीबन्दी रहेका छन्। तीमध्ये महिला ब्लकमा ५८ महिला सहित ४ जना आश्रित बालबालिकासहित ५९ जना रहेका छन्।
अनुगमनका क्रममा कारागारमा नियमित स्वास्थ्य जाँच, प्रत्येक १५ दिनमा सुगर र प्रेसर परीक्षण, योग अभ्यास, खेलकुद सामग्री, टेलिभिजन तथा पत्रपत्रिकाको व्यवस्था गरिएको पाइएको छ। तर कैदीबन्दीहरूले दैनिक खर्चका लागि दिइने भत्ता अपुग भएको गुनासो गरेका छन्। हाल सरकारले दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको भए पनि सो रकमले दाल, तरकारी तथा सरसफाइका सामग्री व्यवस्थापन गर्न कठिन भएको उहाँहरुले गुनासो गर्नुभयो ।
कारागारका सिनियर अहेब द्रोण ओलीले नियमित स्वास्थ्य सेवा तथा औषधिमा समस्या नभए पनि आपतकालीन शल्यक्रिया जस्ता अवस्थामा उपचारमा कठिनाइ हुने बताएका छन्। उनले कैदीबन्दीको उपचारका लागि कारागारमा बजेट पठाउने व्यवस्था भन्दा नजिकका अस्पतालसँग सोधभर्ना प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन्। यसबाट बिरामीले सहज उपचार पाउने र खर्च पनि बचत हुने उनको भनाइ छ।
यसैबीच, ०८२ भदौ २३/२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका नौ ओटा सिसी क्यामेरा र दुई ओटा गेट मर्मत गरी सञ्चालनमा ल्याइएको जेलर सेजुवालले जानकारी दिनुभयो ।
उनका अनुसार कारागारमा खानपान, बसोबास, खानेपानी, सञ्चार तथा शौचालयको आधारभूत समस्या नरहेको छ। अनुगमनका क्रममा महिला ब्लकसहित तीनै वटा ब्लकका चौकीदारहरूसँग छलफल गरिएको थियो।
अनुगमन टोलीमा इन्सेक प्रतिनिधि जयनारायण पुन, नागरिक समाज दाङका पूर्व संयोजक टिकाराम रेग्मी तथा रेडियो प्रकृतिका समाचारदाता चेतन ओली सहभागी हुनुहुन्थ्यो ।