कास्की कारागारका बन्दीहरूले खानेपानीको अभाव झेलिरहेका छन् । फागुन ७ गते कारागार पुगेको सरकारी टोलीसँग बन्दीहरूले खानेपानीको व्यवस्था गरिदिन माग गरेका थिए ।
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला मूल समारोह समिति कास्की र प्रदेश निर्वाचन कार्यालयले कारागारमा फलफूल वितरण कार्यक्रम राखेका थिए । सोही कार्यक्रममा कारागार प्रशासनले कारागारको भौतिक अवस्था जीर्ण रहेको र खानेपानीको ठूलो समस्या रहेको तथ्य सार्वजनिक गरेको थियो ।
कारागारका प्रशासक राजेन्द्र शर्माका अनुसार ६ सय ८३ जना कैदीबन्दी रहेको कारागारमा खानेपानीको नियमित आपूर्ति हुन सकेको छैन । कारागारमा खानेपानीको समस्या निकै चर्को छ र भवनहरू पनि मर्मत गर्नुपर्ने अवस्थामा छन् । शर्माले यसअघि नवयुवा पुस्ताको आन्दोलनका क्रममा ७ सय ७३ जना बन्दी रहेकामा धेरै संख्यामा बन्दीहरू फरार रहेका र तीमध्ये १ सय ४३ जना अझै नफर्किएको बताउनुभयो । हाल कारागारमा २९ जना महिला बन्दी रहेको समेत जानकारी गराउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कारागारमा रहेका बन्दीहरूको गुनासो सम्बोधन गर्नेे बताउनुभयो । शर्माले बन्दीहरूले उठाएका समस्या समाधानमा प्रशासनले पहल गर्ने आश्वासन समेत दिनुभयो ।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, सूचना अधिकारी रुद्र न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, जिल्ला समन्वय अधिकारी नवराज बराल र कास्कीका प्रहरी प्रमुख नवीन कार्की लगायतको उपस्थिति थियो ।