जेनजी आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ मा रहेको झुम्का कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जेनजी आन्दोलनको मौका छोपेर झुम्का कारागारबाट भागेका मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३० वर्षीय वविनारायण चौधरीलाई प्रहरीले ०८२ मङ्सिर ६ गते गिरफ्तार गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका चौधरी जेनजी आन्दोलनको मौका छोपेर ०८२ भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए । चौधरीलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले बताउनु भयो।
अदालतले २५ वर्षको जन्मकैदको सजाय सुनाएपछि चौधरी झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
पुरुष कैदीबन्दी तथा थुनुवामा मात्र राखिने १ हजार ६ सय जनाको क्षमता भएको क्षेत्रीय कारागार झुम्कामा जेनजी आन्दोलन हुँदा १ हजार ७ सय ९९ जना कैदीबन्दी तथा थुनुवा थिए ।
जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कारागारबाट १ हजार ५ सय ७२ जना फरार भएका थिए ।
फरार भएकामध्ये ०८२ मड्सिर ७ गतेसम्म १ हजार २२ जनालाई गिरफ्तार वा विभिन्न तरिकाले कारागारमा फर्काइएको कारागारका जेलर सुवास लामिछानेले बताउनु भयो । कारागारबाट फरार भएकामध्ये अझै ५ सय ५० जनालाई कारागार फर्किन बाँकी रहेको जेलर लामिछानेको भनाइ छ ।