मण्डनदेउपुर नगरपालिका–१० घर भई पनौती नगरपालिका–८ पीस होम पुनःस्थापना केन्द्रमा रहेका १६ वर्षीय सोहन श्रेष्ठको यातना दिएर हत्या गरेको आरोपमा पनौती नगरपालिका–८ मल्पी निवासी पुनःस्थापना केन्द्र सञ्चालक ३३ वर्षीय समीर चौलागाईँलाई जिल्ला अदालतले जन्म कैदको सजाय फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले ०७९ भदौ २७ गते सो फैसला गरेको पीडितकी आमा उषा श्रेष्ठले बताउनु भयो ।
बालकलाई ०७८ माघ १६ गते चौलागाईले हत्केला, खुट्टा, पैताला र टाउकोमा पाईप र लौरोले हिर्काएर हत्या ठहर गर्दैं जिल्ला न्यायाधीश भट्टराईको इजलासले जन्म कैदको फैसला सुनाएको हो ।
सोहन श्रेष्ठले लागूऔषध प्रयोग गरिरहेको भन्दै सुधारको लागि पनौती नगरपालिका–८ मल्पीमा रहेको पिस होम पुनःस्थापना केन्द्रमा २०७७ भदौ ३० गते भर्ना गरिएको आमाले बताउनु भयो ।
पीडित बालककी आमा श्रेष्ठका अनुसार १७ महिनासम्म राख्दा पनि बानी सुधार गर्न नसकेको भन्दै पुनःस्थापना केन्द्रका सञ्चालकले छोरालाई ०७८ माघ १६ गते दिनभर पाईप र लौरोले कुटपिट गरेका थिए ।
पीडितको शीर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा माघ १६ गते राती नै मृत्यु भएको थियो ।
मृतकको पोष्टमार्टम ०७८ माघ १८ गते शीर मेमोरियल अस्पताल बनेपामा भएको थियो ।
मृतककी आमाले आरोपित चौलागाईँविरुद्ध ०७८ माघ १७ गते जिल्ला जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् ।
चौलागाईलाई जिल्ला प्रहरी कार्यालयले माघ १६ गते पनौती ८ मल्पीमा रहेको पिस होम पुनःस्थापना केन्द्रबाटै गिरफ्तार गरेको थियो ।